काठमाण्डौ । भारतका पहिला राष्ट्रपति राजेन्द्र प्रसादको मृत्यु भएको ५० वर्ष बितिसकेको छ, तर उनको नाममा पटनाको एक बैंकमा खोलिएको खाता अझै पनि संचालनमा रहेको पाइएको छ । 

पटनाको एक्जीविशन रोडमा रहेको पञ्जाव नेशनल बैंकको शाखामा ०३८००००१०००३०६८७ नम्बरको पहिलो राष्ट्रपति राजेन्द्र प्रसादको नाममा खोलिएको खाता अझै पनि संचालनमा रहेको बीबीसीले  जनाएको छ । 

सन् १९६२ अक्टोबर २४ देखि संचालनमा आएको यो खाताको पहिलाको नम्बर ३०६८ थियो । 

सिनियर बैंक मेनेजर सञ्जयकुमारका अनुसार राजेन्द्र प्रसादको मृत्युपछि पनि यो खाता जारी रहेको छ । ‘यो खातामा प्राय कसै न कसैले पैसा हालिरहेकै हुन्छ ।’ उनले भने–‘कहिले १ सय रुपैयाँ, कहिले ५ सय १ रुपैयाँ परिरहन्छ ।’ 

बैंकको शाखाको सफ्टवेयरमा राजेन्द्र प्रसादको तस्विर अन्य जिवित खातावालको जस्तै राखिएको छ । परिचयमा चाहि भारतका पहिलो राष्ट्रपति भनेर खुलाइएको छ । उनको ठेगानामा सदाकत आश्रम, पटना लेखिएको छ । 

राष्ट्रपति पदबाट अवकाश पाएपछि राजेन्द्र प्रसाद सदाकत आश्रममै बसेका थिए र उनले जीवनको अन्तिम क्षण समेत यही बिताएका थिए । 

यो खातामा जम्मा भएको पैसा शिक्षाको बिस्तारमा खर्च भइरहेको बताइएको छ । खातामा हाल ७३३० रुपैयाँ रहेको बैंकले जनाएको छ । रिजर्ब बैंक अफ इण्डियालाई यो खातालाई डेफ अकाउण्टमा सिफ्ट गरिदिएको छ, यो अकाउण्टमा जम्मा भएको पैसा भारतमा शिक्षाको सवलीकरण र बिस्तारमा खर्च हुने गर्छ । 

तर रमाइलो कुरा चाहि, राजेन्द्र प्रसादको खातामा यसरी पैसा जम्मा गर्ने व्यक्ति को हुन्, सो  बिषयमा बैंकसँग स्पष्ट जानकारी भने छैन । 

सञ्जयकुमारको भनाईमा यसरी पैसा जम्मा गर्ने व्यक्ति पञ्जाब नेशनल बैंकका ग्राहक वा कर्मचारी पनि हुनसक्छन । ‘हामीले यो खातालाई डिस्प्लेमा राखिदिन्छौ, त्यो देखेर धेरैले सकेजति रकम जम्मा गर्ने गरेका छन् ।’–उनले भने । 

स्रोतका अनुसार राजेन्द्र प्रसादको मृत्युपछि उनको परिवारले समेत यो खातामा कुनै दाबी गरेको छैन । उनकी नातिनी तारा सिन्हाका अनुसार परिवारले सो खातामा कहिल्यै दाबी नगरेको र बैंकले समेत सो खातालाई जोगाएर राखेको छ । उनले आफ्ना हजुरबुबाको नाममा खोलिएको खातामा जम्मा भएको पैसा शिक्षामा लगानी भइरहेको छ भने त्यो निकै खुशीको कुरा भएको प्रतिक्रिया दिइन ।