काठमाण्डौ । करिब १० महिनासम्म लगानीकर्ताको लगानीलाई बन्धक बनाएर पीडा दिएको मेगा र टुरिजम बैंकबीचको मर्जर भाँडिने संभावना बढेको छ । टुरिजमसँग मर्जरमा जाने बिषयमा मेगा बैंकले आह्वान गरेको विशेष साधारणसभामा सेयर स्वाप रेसियोको बिषयमा भाँडभैलो भई साधारणसभा नै स्थगित भएपछि यस्तो संभावना बढेको हो । 

मेगा बैंकका संचालक र सेयरधनीहरुबीच टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरमा जानका लागि डिडिएबाट निस्किएको सेयर स्वाप अनुपातको बिषयमा तीव्र विवाद र चर्काचर्की भएको हो । 

यी दुुई बैंकबीच मर्जर सम्झौता हुँदा मेगाको एकसयकित्ता सेयर बराबर टुरिजमको ९५ कित्ता हुने गरी डिडिए सम्झौता भएको थियो । तर, दुवै बैंकको डिडिए गर्ने क्रममा टुरिजमको स्वाप रेसियो तल झरी ९१.९७ कित्तामा सीमित बन्न पुुग्यो । डिडिएको क्रममा आएको स्वाप रेसियोमै मर्जरमा जान सेयरधनीले दवाब दिएका छन् भने मेगाका संचालकले सम्झौता अनुसारको स्वाप अनुपात स्वीकृत गरेर अगाडि बढ्नुपर्ने अडान लिए । 

मेगाका संचालकहरुले सम्झौता अनुसारको सेयर स्वाप अनुपातमा जोड गरेपछि सेयरधनीले उनीहरुविरुद्ध नाराबाजी गरेका थिए । संचालक र साधारण सेयरधनीबीच धेरैबेरसम्म चर्काचर्की परेको थियो । 

सो क्रममा सेयरधनीहरुले प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहविरुद्ध समेत नाराबाजी गरेका थिए । उनको व्यवस्थापकीय नेतृत्वप्रति समेत सेयरधनीले प्रश्न उठाएका थिए । 

सेयरधनीहरुले सो क्रममा लगानीकर्ताको लगानीलाई १० महिनासम्म बन्धक बनाएर मेगा बैंकले आफ्नो रेपुटेसन बिगारेको भन्दै संचालक समिति र व्यवस्थापनको चर्को आलोचना गरेका थिए । 

विशेष साधारणसभामा होहल्ला र विवादले उग्र रुप लिएपछि पूर्वनिर्धारित कार्यक्रम तालिका प्रभावित भएको थियो । कतिपय सेयरधनी संचालक र सीइओको बलमिच्याईविरुद्ध साधारणसभा नै बहिस्कार गरी हिँडेका थिए । 

सोही क्रममा साधारणसभाका लागि आवश्यक कोरम नपुुगेपछि अनिश्चितकालका लागि मेगाको विशेष साधारणसभा स्थगित भएको घोषणा गरिएको एक संचालकले बताए । मर्जरकै बिषयले साधारणसभा स्थगित हुने अवस्थासम्म पुुगेपछि टुरिजमसँगको मर्जर नहुने संभावना बढेको ती संचालकले बताएका छन् । 

टुरिजम सहमत
उता, टुरिजम डेभलपमेन्ट बैंक मेगासँग मर्जरमा जान सहमत भएको छ । बैंकको ७ औं वार्षिक साधारणसभाले मेगासँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । बैंकको साधारणसभाले १७ करोड १० लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर निश्कासन र मेगासँगको स्वाप रेसियो १००ः९५ समेत पारित गरेको छ । डिडिएमा निस्किएको स्वाप रेसियो भन्दा सम्झौता अनुसारको स्वाप रेसियो पारित भएको देखिएको हो । टुरिजमको विशेष साधारणसभाले सम्झौता अनुसारकै स्वाप रेसियो पारित गरेको र मेगाका बहुसंख्यक सेयरधनीले भने डिडिएको क्रममा निस्किएको स्वाप रेसियो कार्यान्वयन हुनुपर्ने अडान नछाडेपछि यी दुुई बित्तीय संस्थाबीच मिलेर जानसक्ने अवस्था झनै टरेको देखिएको छ ।