काठमाण्डौ । सेयर बजारमा आईपीओको लहर चलिरहेको छ। कम लगानीमै अधिकतम मुनाफा हुने भएपछि आमलगानीकर्ता आईपीओमा लागिरहेका छन्। तर डिम्याट खोल्न पठाएको हप्तौँसम्म पनि डिम्याट खाता नआउने र जसोतसो लामो समयपछि डिम्याट खाता खुले पनि मेरो सेयरको लगइन पासवर्ड नआउने आमलगानीकर्ताको गुनासो सर्वत्र सुनिन्छ। 

यो समस्या समाधान गर्न मेगा क्यापिटल मार्केट्स लिमिटेडले एक कार्यदिनमै डिम्याट र मेरो सेयरको लगइन युजर र पासवर्ड दिने जनाएको छ। सेवाग्राहीले दिउँसो २ बजेसम्म डिम्याट फाराम भरेमा सोही दिन डिम्याट खाता र मेरो सेयर दिने मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर वादे श्रेष्ठले बताए। 

देशैभरका मेगा बैंकका शाखा कार्यालय, एक्सटेन्सन काउन्टर वा मेगा क्यापिटल मार्केट्स लिमिटेडमा दिउँसो २ बजेभित्र फाराम बुझाएका ग्राहकलाई सोही दिन डिम्याट खाता नम्बर र मेरो सेयर लगइन युजर र पासवर्ड प्रदान गर्ने गरी मेगा क्यापिटलले व्यवस्था मिलाइसकेको र सोहीअनुसार भइरहेको श्रेष्ठले जानकारी दिए। यदि कदमकदाचित सोही दिन डिम्याट नखोलिएमा डिम्याट शुल्क फिर्ता गर्ने मेगा क्यापिटलले ग्यारेन्टी गरेको छ। यसले सेवाग्राहीलाई सहज र तनावमुक्त रुपमा नेपालको सेयर बजारमा भित्रिने बाटो खोलिदिने मेगा क्यापिटलको विश्वास छ।