काठमाण्डौ । नेपालको वित्तीय इतिहासमा हालसम्मका म्युचुअल फन्डमध्ये सबैभन्दा धेरै आवेदन ‘मेगा म्युचुअल फन्ड–१’ परेको छ। योसँगै मर्चेन्ट बैंकिङमा मेगा क्यापिटल मार्केटले धमाकेदार इन्ट्री गरेको छ।

गत भदौ ४ गतेदेखि भदौ १० गतेसम्म बिक्री खुला गरिएको यस योजनामा मागभन्दा १ लाख ६३ हजार ६४६ आवेदन परेको छ। जुन हालसम्मका म्युचुअल फन्डहरुमा परेको आवेदनमध्ये सबैभन्दा धेरै हो।

बन्दमुखी यस योजनाका प्रतिइकाइ मूल्य रु. १० दरका कुल १० करोड इकाइ निष्कासन गरिएको थियो। जसमा न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक मेगा बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइमा सार्वजनिक निष्कासन गरिएको थियो। 

दुई दिनमै मागभन्दा बढी आवेदन प्राप्त भएको यस योजनामा चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताको उल्लेखनीय सहभागितास्वरुप १ लाख ६३ हजार ६४६ आवेदकबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाइ खरिदका लागि आवेदन परेको हो। जुन बिक्रीका लागि माग गरिएकोभन्दा २.३७ गुणा बढी आवेदन परेको छ।

मागभन्दा धेरै बढी इकाइका लागि आवेदन परेकोले नेपाल धितोपत्र बोर्डले जारी निर्देशिकाबमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाइ बाँडफाँड गरिने योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ। 

यो नयाँ कीर्तिमान कायम गरेकोमा कम्पनी गौरवान्वित भएको क्यापिटलले जनाएको छ। ‘कम्पनीप्रति प्राप्त भएको यस विश्वासका कारण हामीलाई अझै सशक्त ढंगले अगाडि बढ्न हौसला मिलेको छ’, क्यापिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस योजनाप्रति लगानीकर्ताबाट प्राप्त विश्वासको उच्च कदर र सम्मान गर्दै आउँदा दिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरीय सेवा प्रदान गर्न क्रियाशील रहने विश्वास दिलाउन चाहन्छौँ।’  

कम्पनीलाई सहयोग तथा हौसला प्रदान गर्ने नेपाल धितोपत्र बोर्ड, पत्रकार तथा मिडियाकर्मी, लगानीकर्ता, शुभचिन्तकलगायत अन्य सम्बन्धित सम्पूर्णमा क्यापिटलले आभार प्रकट गरेको छ।