काठमाण्डौ । मेगा बैक नेपाल लिमिटेडले प्रवर्द्धन गरेको मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१” को इकाइहरु बाँडफाँड गरिएको छ।

प्रतिइकाइ मूल्य रु.१० दरका १० करोड इकाइमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्युनतम १५ (पन्ध्र) प्रतिशत इकाइ कोष प्रवर्द्धक मेगा बैंकका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्काशन गरिएको थियो। यस योजनामा सर्वसाधारण लगानीकर्ताको उल्लेखनीय सहभागितास्वरुप सामूहिक लगानी कोष इतिहासमा सबैभन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम भएको थियो। 

यस योजनामा १ लाख ६३ हजार ६४६ आवेदकबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाइ खरिदका लागि आवेदन परेको छ। जुन बिक्रीका लागि माग गरिएको आवेदन रकमभन्दा २.३७ गुणा बढी आवेदन हो।मागभन्दा अधिक इकाइका लागि आवेदन परेकोले नेपाल धितोपत्र बोर्डले जारी निर्देशिकाबमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाइ मूल्य रु. १० दरको १२ करोड ५० लाख इकाइ अर्थात रु १ अर्ब २५ करोडबराबरको योजनाको आकार निर्धारण गरी बाँडफाँड गरिएको योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्सले जनाएको छ। उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ। 

धितोपत्र बाँडफाँडसम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिकाअनुसार रितपूर्वक प्राप्त आवेदनमध्ये १०० इकाइदेखि ३ लाख ५० हजार इकाइसम्म आवेदन माग गर्ने १ लाख ५५ हजार ८६४ जना आवेदकलाई माग गरेबमोजिम इकाई बाँडफाँड गरिएको छ। त्यस्तै ५ लाखदेखि १ करोड इकाइसम्म आवेदन गर्ने ३४ जना आवेदकलाई ४ लाख ३६ हजार ३३० इकाइ बाँडफाँड गर्नुका साथै बाँकी रहेको २९० इकाइ ३४ जनामध्ये २९ जना आवेदकलाई गोलाप्रथामार्फत थप १० इकाई बाँडफाँड गरिएको मेगा क्यापिटलले जनाएको छ।