काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्रालिसँग सम्झौता गरेको छ। 

काठमाण्डौको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। किन्निहोसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवं साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि किन्निहोको सिफारिसमा साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।

सम्झौतापत्रमा हस्ताक्षरपछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुका साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका बैंकका शाखामार्फत छिटोछरितो ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। 

किन्निहोका प्रमुख घिमिरेले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए। 

किन्निहोसँगको सम्झौताअन्तर्गत मेगा बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’मार्फत गण्डकी र लुम्बिनी प्रदेशका कृषकलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ।