काठमाण्डौ । मेटलाइफ नेपालले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस)का लागि दुई संस्थाहरुबीच सम्झौता भएको छ। 

एनसीएचएलको नेटवर्कमा सबैजसो बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएकाले उक्त सम्झौतापश्चात मेटलाइफका ग्राहकलाई प्रिमियम भुक्तानी गर्न तथा मेटलाइफबाट भुक्तानी प्राप्त गर्न पनि थप सहज हुनेछ। 

त्यसैगरी मेटलाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, सर्वेयर भुक्तानी, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना कारोबारहरु स्वचालित रुपमा गर्न सक्नेछ। 

सम्झौतापत्रमा मेटलाइफका तर्फबाट संस्थाका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले भने, ‘हामी सधैँ आफ्ना ग्राहकलाई थप सहज रुपमा सेवा प्रदान गर्ने उपायहरु गरिरहेका हुन्छौँ र नेपाल क्लियरिङ हाउससँग भएको यस सम्झौताले हाम्रा ग्राहकलाई प्रिमियम भुक्तानी गर्न थप सहज हुनेछ भने मेटलाइफबाट बीमा दाबी तथा अन्य भुक्तानी प्राप्त गर्न पनि छिटो र सहज हुनेछ।’

एनपीएसअन्तर्गत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ८० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।   

अमेरिकामा स्थापना भएको अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा र मेटलाइफ इंकको सहायक कम्पनीका रुपमा मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालनमा रहेको छ। नेपालमा मेटलाइफले ग्राहक तथा व्यवसायलाई जीवन बीमा, दुर्घटना र स्वास्थ्य बीमा, सामूहिक बीमा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ।