काठमाण्डौ । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाले रक्तदान गरेका छन्।

जुन १४ लाई संसारभर विश्व रक्तदाता दिवसका रुपमा मनाउने क्रममा मेडिसिटी बयोधा अस्पतालले नेपाल रेडक्रस सोसाइटी वीरगन्जको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रमका सशस्त्र प्रहरी, जनपद प्रहरी, विभिन्न संघसंस्था, स्थानीय नागरीक, अस्पतालका कर्मचारीले रक्तदान गरेका छन्। 

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रक्तदान जीवनदान भनिए पनि हत्तपत्त मानिसहरु रक्तदान गर्न अभिप्रेरित नहुने भएकोले जनचेतना अभिवृद्धिमा अझ बढी काम गर्नुपर्नेमा जोड दिए। अस्पतालले आमनागरिकको स्वास्थ्यमा ध्यान दिँदै सबैलाई उपचार गर्ने अवस्था सिर्जना गर्नुपर्ने र पैसाको अभावमा बिरामीलाई उपचार नगर्ने, पैसा नतिरेका लागि अस्पतालले बन्धकी बनाउनेजस्ता कार्य गर्न नहुने उनले बताए। 

वीरगन्जका जनताहरुको स्वास्थ्य अभिवृद्धिका लागि महानगरपालिका सबै प्रकारको सहयोग गर्न तत्पर रहेको पनि सिंहले बताए। 

कार्यक्रममा मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले हालै नेपाल मेडिसिटी अस्पताल काठमाण्डौले नारायणी बयोधा अस्पतालको स्वामित्व ग्रहण गरी अस्पतालको व्यवस्थापनलाई अझ परिकृत गर्दै वीरगन्जका जनताहरुलाई घरआंगनमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा लागीपरिरहेको जानकारी गराए। निकट भविष्यमा क्याथ ल्याबसहित मुटुरोगको सम्पूर्ण उपचारका लागि नेपाल मेडिसिटी अस्पतालबाट चौबीसै घन्टा विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गर्ने योजना रहेको पनि उनले बताए। 

अतिविशिष्ट र विशिष्ट सेवाहरुलाई वीरगन्जमै सम्भव बनाउने अभियानलाई साकार बनाउन वीरगन्जका नागरिक, उद्यमी ब्यवशायी, समाजसेवी, स्थानीय निकाय, स्थानीय प्रशासन एवं स्वास्थ्यकर्मीहरुको सदैव सहयोगको अपेक्षा गरेको रिमालले बताए। 

कार्यक्रममा समाजसेवी तथा उद्योगपति अशोक बैद्य, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव, सशस्त्र प्रहरीका नायब उपरिक्षक सुमन थापा, श्रीपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डीए सापकोटालगायतको उपस्थिति थियो।