– अर्जुन तिमिल्सिना

काठमाण्डौ । बेलैमा ईडीआईएस नहुँदा क्लोजआउटमा पर्ने समस्यासम्बन्धी लगानीकर्ताको गुनासाहरु निकै सुनिने गरिन्छ। अझ समयमै ईडीआईएस नगर्दा वा मेरो सेयरमा आएको समस्याले ईडीआईएस गर्न नपाएर जरिवाना तिर्ने लगानीकर्ता थुप्रै छन्। 

मेरो सेयरमा आज बिहानैदेखि फेरि ईडीआईएसमा समस्या देखिँदा लगानीकर्ता समस्यामा परेका छन्। लगानीकर्ताले आफूले बेचेको सेयर हस्तान्तरण गर्नका लागि ईडीआईएस गर्न खोज्दा नभएका कारण हैरानमा परेका हुन्। ईडीआईएस नभएकै कारण अहिले सामाजिक सञ्जालमा टीकाटिप्पणी र गुनासा पोख्ने लगानीकर्ता बाक्लै देखिएका छन्। 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले ईडीआईएसमा बिहान समस्या भएको तर अहिले समाधान भइसकेको दाबी गरे । ‘कहिलेकाहीँ केही समयका लागि प्राविधिक समस्या आउनु सामान्य नै हो’, उनले भने, ‘सीडीएससीले समस्या आउनेबित्तिकै तदारुक्ताका साथ समाधान गर्ने गरेको छ।’

सीडीएससीका प्रवक्ताले ईडीआईएसमा देखिएको समस्या समाधान भएको दाबी गरे पनि एसियन सेक्युरिटिज प्रालिका राफसाफ विभागका एक अधिकारीले अहिले पनि समस्या पूर्ण रुपमा समधान नभएको बताए। ‘बिहानै ईडीआईएसमा समस्या देखिएको छ, सायद समाधान हुँदै होला’, उनले भने। 

सीडीएससीका सीईओ पूर्णप्रसाद आर्चायले कर प्रयोजनका लागि अल्पकालीन र दीर्घकालीन लागनीकर्ता छुट्टाउनु पर्ने हुँदा आगामी साउन ८ गतेसम्म मेरो सेयरमा समान्य समस्याहरु आउन सक्ने बताए। ‘तर हामी समस्या देखिना साथ समाधान गर्नतिर लागिहाल्छौँ’, उनले भने। 

यसअघि पटकपटक मेरो सेयरमा समस्या देखिन थालेपछि सीडीएससीले आफ्नो प्रणालीको स्तरोन्नति गरेको गरेको थियो। जसका कारण केही दिनयता आईपीओ भर्नेदेखि लिएर अन्तिम नतिजा हेर्नेसम्मका काम सहज भएको छ।