काठमाण्डौ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज सोमबारदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ।

आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने समितिका प्रवक्ता राजेन्द्र पन्तका भनाइ छ। खानेपानीमन्त्री मणि थापाको उपस्थितिमा बिहान ११ सुरुङमा पानी हालेर परीक्षण सुरु गरिने पन्तले जानकारी दिए।

गत असारमै सुरुङमा पनि पानी भनेर परीक्षण गरिएको थियो। तर सिन्धुपाल्चोकको हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो। त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो। ‘विशेषज्ञहरुले निरीक्षण गर्नुभयो, उहाँका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भयो’, आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले भने।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए। परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ। उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाण्डौस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ।

खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाण्डौको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ। सुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने खत्रीले जानकारी दिए। 

-RSS