– रेखा चन्द

काठमाण्डौ । डिजीटल बैंकिङमा नम्बर १ बन्ने लक्ष्य बोकेको एनआईसी एशिया बैंकले नवीन योजना ल्याउने क्रमलाई जारी नै राखेको छ। बैंकले आमग्राहकको सुविधालाई विशेष फोकस गरेर क्यास डिपोजिट मेसिन ल्याउन सफल भएको छ। जुन नेपाली बैंकिङ क्षेत्रमा नौलो प्रविधि हो। 

प्रविधिका थुप्रै कुरामा अग्रस्थानमा भइरहँदा बैंकले ग्राहकले मेसिनबाटै सीधै नगद रकम आफ्नो वा अन्यको खातामा जम्मा गर्न सक्ने प्रविधि ल्याउँदा सम्रग बैंकिङ क्षेत्र तथा ग्राहक नै चकित परेका छन्।  

बैंकले हाल यो सेवा काठमाण्डौको न्युरोडस्थित विशाल बजारमा रहेको शाखाबाट मात्रै दिइरहेको छ। बैंकले विस्तारै क्यास डिपोजिट मेसिनलाई सबै शाखामा राख्ने तयारी गरेको छ। आमग्राहकको मन जित्न सफल भएको यो बैंकले बिनाफारम ग्राहकले केवल खाता नम्बरका आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको हो।

बैंकले हालैमात्र यो सेवा ल्याएकाले धेरैलाई थाहा छैन। तर, विशाल बजारबाट उक्त मेसिन प्रयोग गरी रकम जम्मा गरिरहेका ग्राहकहरुले राम्रो प्रतिक्रिया दिइरहेको बैंकको भनाइ छ। 

अधिकांश ग्राहकले बैंकमा पुगेपछि सोे सेवाबारे थाहा पाउँदा अच्चमित हुँदै आगामी दिनमा अझै सजिलो हुने धारणा व्यक्त गर्छन्।

बैंकले २ साताअघि मात्रै यो सेवा ल्याएकोमा प्रयोग गर्ने ग्राहकको संख्या बढिरहेको छ। बैंकले उक्त मेसिनबाट रकम जम्मा गर्दा सहजीकरणका लागि एकजना कर्मचारीलाई खटाएको छ। 

के हो क्यास डिपोजिट मेसिन ?

एनआईसी एशियाका ग्राहकले अब क्यास डिपोजिट मेसिनको प्रयोग गरेर सीधै आफ्नो वा अन्य व्यक्तिको खाता रकम जम्मा गर्न सक्नेछन्। यसो गर्दा ग्राहकलाई डिपोजिट भौचर भर्नुपर्ने र लाइनमा बस्नुपर्ने छैन। जसले गर्दा ग्राहकलाई सजिलो हुनुका साथै समयको बचत हुने एनआईसी एशिया बैंक न्युरोड शाखाकी ब्रान्च इन्चार्ज तथा एक्सपेरियन्स म्यानेजर लुना गुुरुङ बताउँछिन्। ‘अहिले ग्राहकलाई धेरै सजिलो भएको छ, ग्राहकले पहिलेजस्तो भौचर भरेर लाइनमा बस्नुपर्दैन’, उनले भनिन्, ‘यसले ग्राहकलाई पहिलाको तुलनामा धेरै सजिलो भएको छ र समयको बचत भएको छ।’

क्यास डिपोजिट मेसिनमार्फत कसरी रकम जम्मा गर्ने ?

एक्सपेरियन्स म्यानेजर गुुरुङका अनुसार क्यास डिपोजिट मेसिनमा सुरुमा २ वटा अपसन आउनेछन्। एउटा अकाउन्ट होल्डर वा खातावाल आफैँ र अर्को ननअकाउन्ट होल्डर अर्थात अरु व्यक्तिको खाता भनेर अप्सन आउँछ।

नगद जम्मा गर्नका लागि ग्राहकले उक्त मेसिनमा रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त हुन्छ। सो ओटीपी मेसिनमा राखेर भेरिफाई भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुन्छ। 

‘क्यास डिपोजिट मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिन्छ’, गुरुङले भनिन्, ‘मेसिनबाटै रकम जम्मा भएको रिसिप्ट आउँछ।’ 

यसका साथै बैंकले रकम जम्मा भएपछि एसएमएससमेत पठाउँछ। 

एक दिनमा कति रकम जम्मा गर्न सकिन्छ ?

बैंकले निकट भविष्यमा देशका अन्य शाखामा समेत विस्तार गर्ने योजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक रुपमा उपस्थित भई फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने बाध्यताबाट ग्राहकलाई मुक्ति मिल्ने विश्वास बैंकले विश्वास लिएको छ।

यस मेसिनले रु. १ हजार र रु. ५०० दरका नोटहरुमात्र जम्मा गर्ने अनुमति दिन्छ। एक  ग्राहकको खातामा एकपटकमा अधिकतम ९९ हजार ५०० रुपैयाँ जम्मा गर्न मिल्छ भने एक दिनमा अधिकतम ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म नगद जम्मा गर्न सकिने गुुरुङको भनाइ छ। 

के भन्छन् ग्राहक ?

आफूहरुले पहिलोपटक मेसिनबाटै रकम जम्मा सिस्टम देखेको न्युरोडस्थित शाखामा आएका ग्राहक बताउँछन्। आफूलाई उक्त सेवाबारे थाहा नभएको र बैंकमा आउँदा बैंकले जानकारी दिएपछि थाहा पाएको प्रतिक्रिया उनीहरुको छ। सम्रगमा उनीहरुले भौचर भरेर पालो कुर्नुभन्दा पनि सीधै मेसिनबाट रकम जम्मा गर्दा सजिलो हुने बताएका छन्।

न्युरोडस्थित शुभम् सहकारी संस्थामा कार्यरत पूजा सापकोटा बचतकर्ताबाट उठेको १ लाख बढी रकम सहकारीको खातामा जम्मा गर्न एनआईसी एशियामा पुुगेकी थिइन्। उनले मेसिनमार्फत रकम गर्न पाउँदा धेरै सहज भएको प्रतिक्रिया दिइन्। ‘रकम जम्मा गर्न पहिला पनि आउँथे तर लामो समय लाइनमा बसेर भौचर भरेर रकम जम्मा गर्नुपथ्र्याे’, उनले भनिन्, ‘मेसिन म आफैँले प्रयोग गरेको त छैन तर बैंकको मानिसले गरिदिनुहुन्छ, पहिलाभन्दा धेरै छिटो हुनेरहेछ।’

यस्तै आफ्नै खातामा रकम जम्मा गर्न आएकी थिइन्, मेनुका बस्नेत। उनलाई पनि उक्त सेवाबारे बैंकले नै जानकारी दिएको थियो। उनी पनि बैंकको यो सेवा निकै राम्रो रहेको बताउँछिन्। उनले पनि लाइन बस्नुपर्ने भन्झट हटेको र मेसिनबाट पैसा जम्मा गर्दा सहज भएको कुरा दोहोर्याइन्। 

बैंकका अर्का ग्राहक हुन्, विजयशेखर भट्टराई। उनी पनि आफ्नै खातामा रकम जम्मा गर्न कोटेश्वरबाट न्युरोडस्थित बैंकमा पुगेका थिए। उनी भन्छन्, ‘बैंकले नयाँ प्रविधि ल्याएर एकदमै राम्रो गर्यो, सजिलो र छिटो पनि छ तर लेखपढ गर्न नसक्नेहरुलाई अलि अप्ठ्यारो पर्ला कि ? कहिलेकाहीँ बढी भीडभाड हुँदा मेसिन त्यसै पनि अव्यवस्थित हुन सक्छ। त्यसैले यसमा पनि पालो सिस्टम राख्दा ठीक होला।’

आफ्नो श्रीमानको खातामा रकम जम्मा गर्न आएकी सबिना मास्के आफू प्रायः बैंकमै नजाने र गइहाले पनि क्षेत्रपाटी शाखामा जाने गरेको बताउँछिन्। तर, आज न्युरोड शाखामा आएर भौचर भरेर बसेकी उनलाई बैंकका कर्मचारीले मेसिनबाट सजिलै रकम जम्मा गर्न सकिने बताएपछि मास्के छक्क परेको बताउँछिन्। ‘योभन्दा अगाडि मैले कहीँ पनि मेसिनबाट पैसा जम्मा गरेको देखेको छैन, त्यसैले मेरा लागि यो एमदमै नयाँ छ’, उनले भनिन्। 

लाइनमा लामो समय पालो कुर्नुपर्ने भएकाले मेसिनबाट पैसा जम्मा गर्दा एकदमै छिटो र सजिलो भएको मास्केको भनाइ छ। ‘बैंकले सबै शाखामा राखिदिए अझै सजिलो हुने थियो’, उनले सुझाव दिँदै भनिन्। 

यसअघि बैंकले ‘एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सञ्चालनमा ल्याएको थियो।