काठमाण्डौ । उद्योगीहरुले मैदामा नेपाल आत्मनिर्भर भइसकेको उल्लेख गर्दै अन्य मुलुकबाट हुने आयातमा पूर्ण बन्देज लगाउन माग गरेका छन् । 

नेपाल मैदा उद्योग संघले यस्तो माग गरेको हो । 

संघले मूल्य अभिवृद्धि करका कारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकिएको उल्लेख गर्दै मु.अ.कर छुटमा बिचार गरिदिन नेपाल सरकारसमक्ष अनुरोध गर्ने, कच्चा पदार्थ गहुँ र तयारी बस्तु मैदा आयात गर्दा भन्सार मूल्याङ्कन कमसेकम दुई तहले फरक हुनु पर्ने, गहुँ र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तीमा पनि दुई तह फरक हुनुपर्ने, गहुँ आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाइ उद्योगकै नाममा गहुँ आयात गर्दा १ प्रतिशत हुनुपर्ने लगायतका माग राख्ने निर्णय समेत गरेको छ । 

यस्तै, कमसेकम अफ सिजनमा भए पनि स्वदेशी उद्योगले सहुलियत दरमा गहुँ आयात गर्न पाउनुपर्ने, फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनुपर्ने, नेपालमा गहुँ उत्पादन बढाउन किसान, सरकार र व्यवसायीले सहकार्य गर्दै जानुपर्ने, मैदा निर्यातमा दिंदै आएको निर्यात अनुदानलाई पुनः ५ प्रतिशत कायम गर्नुपर्ने जसले गर्दा स्वदेशी मैदा विदेश निर्यात हुने वातावरण बन्ने पनि संघले धारणा सार्वजनिक गरेको छ । 

यसैबीच, संघको २२ औं वार्षिक साधारणसभाले कुमुदकुमार दुगडलाई आगामी २ बर्षको लागि पुनः अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ । यसअघि उनी २ कार्यकालदेखि अध्यक्षकै रुपमा रहेका छन् । माघ २ गते शुक्रबार काठमाण्डौमा सम्पन्न सभावले सभाले प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।