काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आज साउन १४ गतेबाट आवेदन खुला गरिएको छ। 

यो कम्पनीले कुल ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन सकिनेछ। 

यो आईपीओको निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयपछि हुनेछ। धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

मैलुङ खोला जलविद्युतको यो आईपीओलाई धितोपत्र बोर्डले गत असार २३ गते निष्कासन अनुमति दिएको थियो।