काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने समय डेढ घन्टा थपिएको छ। 

सरकारको एकीकृत तथ्यांक केन्द्र विद्युत आपूर्तिमा समस्या आउँदा अवरुद्ध बनेका कारण हिजो दिउँसोबाट सीडीएससीको मेरो सेयरमा समस्या देखिएको थियो। जसका कारण हिजो दिउँसो ३ः३० बजेदेखि मैलुङ खोलाको आईपीओमा आवेदन दिने कार्य अवरुद्ध बनेको थियो। 

हिजो ५ बजेसम्म मैलुङ खोलाको आईपीओमा आवेदन दिने म्याद रहेको थियो। सोही कारण अवरुद्ध डेढ घन्टाको समय आज मध्याह्न १२ बजेदेखि दिउँसो १ः३० बजेसम्म थपिएको धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ।कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन सकिनेछ।