काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ। 

काठमाण्डौको नक्सालस्थित नारायणचौमा रहेको  धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड गरिएको हो। 

कम्पनीले गत साउन १४ गतेबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

यो आईपीओ कुल २० लाख ६७ हजार ९६७ आवेदकबाट २ करोड ६८ लाख ४० हजार ८८० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये २० लाख ६५ हजार १२४ आवेदकबाट परेको २ करोड ६८ लाख २ हजार २०० कित्तामात्र सदर भएको छ। बाँकी २ हजार ८४३ आवेदकबाट परेको ३८ हजार ६८० कित्ता बदर भएको छ। 

यस हिसाबले आईपीओ गोलाप्रथाबाट ६८ हजार ४७४ जनाले १०÷१० कित्ताका दरले पाएका छन्। तिनैमध्ये १० कित्ताभन्दा माथि आवेदन दिनेमध्ये गोलाप्रथाबाट ६ जनाले थप १÷१ कित्ताका दरले सेयर पाएका छन्। 

यो आईपीओमा झन्डै २० लाख आवेदकको हात खालि भएको छ।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि सीडीएससीको https://iporesult.cdsc.com.np/, धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइटमा गएर हेर्न सकिन्छ।