काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर भोलि असोज ६ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

यो कम्पनीको सेयर (आईपीओ) आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने गरेको छ। 

नेप्सेमा मैलुङ खोला जलविद्युतको कुल ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणलाई बिक्री गरिएको ७ लाख ३६ हजार २८६ कित्ता, आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिएको ३ लाख ३८ हजार १४४ कित्ता र संस्थापक समूहको २५ लाख ७७ हजार कित्ता रहेका छन्।

नेप्सेले मैलुङ खोला जलविद्युतलाई ‘एमकेजेसी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीले ९५.७५ रुपैयाँदेखि २८७.२५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

यदि भोलि नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र स्पेसल प्रिओपन सेयरमा यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबार खुला हुनेछ। 

यो कम्पनीले गत साउन दोस्रो साता सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो।