काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा मागभन्दा ४१.६८ गुणा बढी आवेदन परेको छ।

कम्पनीले गत साउन १४ गतेदेखि १०० अंकित मूल्य दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ।कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा हिजो साउन १८ गते बैंकिङ समयसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। तर मेरो सेयरमा समस्या आएपछि आज मध्याह्न १२ गतेदेखि दिउँसो १ः३० बजेसम्म डेढ घन्टा आवेदन दिने समय थपिएको थियो।

धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २१ लाख १८ हजार ९२५ आवेदकबाट कुल २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४१.६८ गुणाले बढी हो।

यस हिसाबले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६८ हजार ४७४ जनाले १० कित्ता दरले सेयर पाउने छन् भने तिनैमध्ये १० कित्ताभन्दा बढी आवेदन दिने ६ जना भाग्यमानी थप १/१ कित्ता सेयर पाउने छन्।