काठमाण्डौ । भारत सरकारले भारु १ हजार र ५ सयको नोटमाथि प्रतिबन्ध लगाएपछि नेपालको अनौपचारिक क्षेत्रमा रहेका त्यस्ता नोट सटहीको नाममा निकै ठुलो कमिसनको खेल सुरु भएको छ । 

विशेष गरी उपत्यका काठमाण्डौ, सीमावर्ती क्षेत्रका प्रमुख बजारहरुमा नेपाली व्यापारी तथा सर्वसाधारणहरुसँग रहेको ५ सय र १ हजार रुपैयाँको नोट अब काम नलाग्ने भन्दै दलालहरुको समुहले निकै ठुलो रकम कमिसन लिंदै सर्वसाधारणबाट त्यस्ता नोट संकलनको धन्दा संचालन गरेका हुन् ।

सर्वसाधारणबाट त्यस्ता गिरोहले आफुहरुसँग भारतीय दलालहरुसँग सम्पर्क रहेको, नेपालकै एसबीआई बैंकका कर्मचारीसँग समेत सम्बन्ध रहेको भन्दै जति पनि रकम लिनसक्ने भन्दै भारु साटिरहेका छन् । तर यसरी भारु साट्दा सर्वसाधारणले निकै ठुलो घाटा व्यहोर्नु परिरहेको छ । 

'एकहजार रुपैयाँ भारु सटही गर्दा १२ सय मात्र पाइने रे ।' धरानमा रहेका एक सेवानिवृत भारतीय सेनाले बिजशालासँग भने-'५ सय भारु सटही गर्दा ८ सय पाउनुपर्नेमा ६ सय मात्र दिने कुरा गर्छन । उनका अनुसार यस्तो गिरोह धरानमा निकै सक्रिय भएको छ ।' 

इटहरी, विराटनगर, काँकडभिट्टा, पशुपतिनगर तथा फिक्कल लगायतको क्षेत्रमा समेत यस्तो गिरोहले निकै ठुलो कमिसन लिएर सर्वसाधारणसँग भारु लिइरहेको छ । 

यी गिरोहले जति संख्यामा भारु लिएर गए पनि एसबीआई बैंकका कर्मचारीले सटही गरिदिने गरेका कारण यस्तो धन्दा फस्टाएको एक स्रोतले बतायो । एसबीआई बैंकले आफ्ना प्रत्येक शाखाबाट भारुको सटही गर्ने काम गरिरहेको छ । 

नेपाल राष्टबैंकले भारतमा १ हजार र ५ सय भारुमा प्रतिबन्ध लागेलगत्तै कुनै पनि बैंक तथा बित्तीय संस्थाले त्यस्ता पुराना नोट सटही गर्न वा लिन नपाउने भने पनि धरान लगायतका क्षेत्रमा रहेका एसबीआईले सो निर्देशनको उल्लंघन गरेको छ । 

यसरी राष्ट्रबैंककै निर्देशन विपरीत एसबीआईले भारु लिन थालेपछि ठुलो कसिमन राखेर सर्वसाधारणबाट भारु संकलन गर्ने गिरोहसँग एसबीआई र त्यहाँ कार्यरत कर्मचारीको साँठगाँठ रहेको सर्वसाधारणको आरोप छ । 

विराटनगरमा समेत यस्तो गिरोह मोटो कमिसन लिएर सक्रियतापुर्वक भारु ५ सय र १ हजारको नोट संकलनको धन्दामा लागेको सर्वसाधारण बताउँछन ।

कतिपय सटही काउण्टर संचालकहरु नै भित्री रुपमा यस्तो धन्दामा लागेका छन् भने सीमावर्ती क्षेत्रका व्यापारी तथा पहुँचवालाहरुले समेत यही धन्दा सुरु गरेका छन् । 

के भन्छ केन्द्रीय बैंक ?
नेपाल राष्ट्रबैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भारु ५ सय र १ हजारका पुराना नोट सटही गर्न वा लिन नपाउने केन्द्रीय बैंकको स्पष्ट निर्देशनविपरीत कुनै बैंक तथा बित्तीय संस्थाले काम गरेको भए सो बिषयमा छानबिन हुने बताए । 

उनका अनुसार भारतसँग कुटनीतिक तवरबाट नेपालमा रहेको भारुको कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा पहल भइरहेको बताए । 

उनका अनुसार बैकिङ च्यानलभन्दा बाहिर रहेको रकमको बिषयमा के गर्ने भनेर समेत रिजर्ब बैंक अफ इण्डियालाई सोधिसकिएको छ । 

बीचको केही वर्षको प्रतिबन्धपछि पछिल्लो समय ०७१ सालबाट नेपालमा भारु १ हजार र ५ सयको नोट कारोबारमा ल्याउन भारत सरकारले नै अनुमति दिएकोले त्यस्ता नोटमाथि लागेको प्रतिबन्धबाट सिर्जित समस्याको समाधान निकाल्ने बिषयमा पनि भारत सरकार र त्यहाँका जिम्मेवार अधिकारीहरु नै संवेदनशील हुनुपर्नेमा उनको जोड छ । यसअघि भारु एक व्यक्ति २५ हजारसम्म बोक्न पाउने भन्ने थियो । व्यापारीको हकमा यो सीमितता अझ बढी थियो । यस्ता व्यक्तिसँग भएको भारु व्यवस्थापन पनि चिन्ताको विषय भएको र यो बिषयमा समेत नेपाल राष्टबैंकले पहल गरिरहेको उनको भनाई छ । 

पण्डितका अनुसार नेपाल राष्ट्रबैंकका गभर्र्नर डा. चिरञ्जिवी नेपालले अर्थमन्त्रालयलाई उपयुक्त पहल कद्मी लिइदिन आग्रह गरे बमोजिम अर्थले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग समेत नेपालमा रहेको भारु व्यवस्थापनको बिषयलाई अगाडि बढाएको छ । 

'हिजोको दिनमा भारत सरकारकै निर्णयले कारोबारमा रहेको ५ सय र १ हजारको नोटको व्यवस्थापन कसरी गर्ने भन्ने बिषय भारतको निर्णयबिना संभव छैन ।' पण्डितले भने-'त्यसकारण भारतले निर्णय नलिएसम्म नेपाल राष्ट्रबैंकले केही गर्न सक्दैन ।'