-भक्तराज रसाइली 
काठमाण्डौ । मोफसलमा बसेर धितोपत्रको दोस्रो बजारमा सक्रिय रहेका लगानीकर्ताहरुको ब्रोकरेज सेवाको विषयमा सहजताको महसुस गर्नुभन्दा गुनासोका चाङ रहेको पाइएको छ ।

पछिल्लो समय ठूला ठूला कम्पनीका आइपीओ निष्कासन भइरहेको र लकडाउनका कारण लगानीका अन्य क्षेत्र सुषुप्त हुँदा  सेयर बजारमा नयाँ लगानीकर्ताहरुको आकर्षण ह्वात्तै बढिरहेको छ । ५० ब्रोकर कम्पनीका देशभर सीमित ४७ शाखाबाट ब्रोकरेज सेवा प्रवाह भइरहेकाले समेत बजारको दायरा बढे पनि लगानीकर्ताहरुले चाहिँ सहजपूर्ण र गुणस्तरीय सेवा पाइरहेका छैनन् । 

हाल देशमा रहेका पचास स्टक ब्रोकर कम्पनीले उपत्यकाबाहिर आफ्ना ४७ शाखाहरुबाट ब्रोकरेज सेवा दिने गरेका छन् । 

बजारको दायरा बढेर नयाँ लगानीकर्ता धमाधम प्रवेश गरिरहे पनि ब्रोकरहरुले गुणस्तरीय सेवा नदिंदा निराशा बढ्ने अवस्था देखिएको छ । यही विषयमा बिजशालाले देशव्यापी लगानीकर्तामा उनीहरुले ब्रोकरेज हाउसबाट पाइरहेको सेवामा केन्द्रीत रहेर सर्वेक्षण गरेको छ।

हेटौडा निवासी पुरु खतिवडाका अनुसार स्टक ब्रोकर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटीजमा केवाइसी खोल्न र कागजातका विषयमा लगानीकर्ताले निकै धेरै सकस व्यहोर्नुपर्छ । साथै, सेयर किन्न समस्या नभए पनि बेच्न समस्या हुने उनको भनाइ छ ।

इटहरीस्थित स्टक ब्रोकर नम्बर ४७ नीभ सेक्युरिटीजबाट सेयर कारोबार गरिरहेका सुवास रिजाल आफ्नो ब्रोकरबाट सन्तुष्ट रहेको सुनाउँछन् । ब्रोकर कार्यालयमा लगानीकर्ताहरुको उल्लेख्य सहभागिता बढिरहेको र अनलाइन युजर र पासवर्ड लिनेको संख्या पनि उल्लेख्य रहेको उनले बताए ।

हिजोआज आइपीएसबाट सेयर बिक्रीबापतको रकम  समयमै पाइने भएकाले आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।

हेटौडामा रहेको ब्रोकर नम्बर ५४ सेवा सेक्युरिटीजबाट सेयर किनबेच गर्र्दै आइरहेका प्रमोद भट्टराई ब्रोकरबाट पाउने सु्विधा चित्तबुझ्दो नभएको गुनासो गर्छन् । अनलाइन युजर लिनसमेत १ महिनादेखि डेढ महिनासम्म समय लागिरहेको उनको दाबी छ । 

विगत ८ वर्षदेखि सेयर बजारमा सक्रिय चितवनका ओम लामिछाने स्टक ब्रोकर नम्बर ४२ शनि सेक्युरिटीजबाट सेयर खरिदबिक्री गरिरहेको बताउँछन् । 'पहिले चितवनमा त्रिशक्ति सेक्युरिटीजको रजाईँ थियो, अहिले शनि आएपछि प्रतिस्पर्धात्मक सेवा पाएका छौं',उनले बिजशालासँग भने-'यद्यपि अहिले पनि सेयर समयमा खातामा नहालिदिने र केही गुनासो गरेमा हेडअफिस सम्पर्क गर्नु भन्दै पन्छिन्छन् । नयाँ लगानीकर्ताहरुलाई ब्रोकरले रेस्पोन्स गर्दैनन्, जुन कार्य गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।' 

इन्टर्नमा विद्यार्थीहरु राखेर अफिस चलाउने गर्दा समेत लगानीकर्ताको भीड बढिरहेको र नयाँ लगानीकर्ताहरुले पुराना लगानीकर्तालाई भनसुन गरिदिन आग्रह गर्ने गरेको उनले बताए ।

मोरंगको रंगेली बस्ने विद्यार्थी संगम घिमिरे स्टक ब्रोकर नम्बर ५० क्रिष्टलकञ्चनजंघाबाट सेयर किनबेच गरिरहेका छन् । १०-२० कित्ता सेयर किनबेच गर्नेलाई ब्रोकरले बेवास्ता गर्ने र सेयर बिक्री गरेपछि समयमा पैसा भुक्तानी नगर्दा साना लगानीकर्तालाई पीडा भइरहेको उनको जिकिर छ । 

अनलाइन युजर र पासवर्ड लिइ सेयर कारोबार गरेमा आंशिक क्लोजआउटका नाममा पैसा उठाउने गरेको उनले सुनाए । 

यसैगरी बिराटनगरस्थित ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटीजले ग्राहकलाई चियानास्ताको समेत व्यवस्थ गरिदिएको र शीघ्रतम ब्रोकरेज सेवा पाइरहेको लगानीकर्ता तीर्थ दंगालले बताए।

काठमाण्डौ केन्द्रीय कार्यालयबाटै स्टक ब्रोकर नम्बर ५६ श्रीहरि सेक्युरिटीजमार्फत फोनबाटै सेयर किनबेच गर्दै आइरहेका बुटवल निवासी  सुमित शाक्य ब्रोकरले न्यूनतम मूल्यमा नै सेयर किनिदिने र अधिकतम मूल्यमा सेयर बेची सहयोग गरिरहेको बताउँछन् । आइपीएसबाटै सेयर बिक्री गरेपछि चौथो दिनमा पैसा हात पर्ने उनको भोगाइ छ । लगानीकर्ताको पनि उल्लेख्य क्रेज बढिरहको उनले बताए ।

चितवनमा रहेको स्टक ब्रोकर नम्बर २९ त्रिशक्ति  सेक्युरिटीजमार्फत् सेयर बजारमा सक्रिय रहेका शिव पौडेलका अनुसार चितवनमा मात्रै ३ वटा ब्रोकर कार्यालयका शाखा रहेका छन् । नयाँ लगानीकर्तालाई चाहिँ १ हप्तासम्म ढिलो भुक्तानी गर्ने र केवाइसीमा ढिलाई भएको गुनासाहरु आउने गरेको उनले दाबी गरे । अनलाइन कारोबारी पनि बढिरहेकाले हाल दैनिक कारोबार रकमसमेत दोब्बर भइरहेको उनको भनाइ छ ।

बुटवलस्थित स्टक ब्रोकर नम्बर ४१ लिञ्च स्टक मार्केटबाट सेयर किनबेच गरिरहेका माधव पाण्डे बुटवलमा ५ वटा ब्रोकर कार्यालय भएकाले समेत यथेष्ट ब्रोकर छनोटको अवसर लगानीकर्ताहरुमा रहेको बताउँछन् । पेमेन्टमा समेत  समस्या नभएको उनको दाबी छ ।

धनगढीमा एक मात्र ब्रोकर कम्पनीको शाखा कार्यालय रहेको स्टक ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीमार्फत सेयर किनबेच गरिरहेकी दीपा शाह ब्रोकरेज सेवा सहज र सुविधायुक्त रहेको बताउँछिन् । 'समयमै सेयर किनबेच गरिदिए पनि सेयर बिक्री पछि भुक्तानी पाउन चाहिँ ६ ७ दिनसम्म लाग्छ',उनले भनिन् ।

नवलपरासी निवासी शिव शर्मा बुटवलमा रहेको स्टक ब्रोकर नम्बर २६ एशियन सेक्युरिटीजबाट सेयर किनबेच गर्छन् । फोनबाटै सेयर किनबेच गर्दै आइरहेका उनी कहिलेकाहीँ फोन नउठाउने समस्या रहेको र सेयर बिक्रीबापतको भुक्तानी पाउन ८-९ दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको जिकिर गर्छन् ।

बर्दिया निवासी डीपी गौतम नेपालगञ्जमा रहेको स्टक ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजबाट सेयर किनबेच गर्दा समयमै गरिदिने गरेको तर सेयर बिक्रीपछि भुक्तानी भने ९-१० दिनसमम्म कुर्न परेको गुनासो गर्छन् । भर्खरैबाट भने ४-५ दिनभित्र भुक्तानी पाउन थालेको उल्लेख गर्दै सेयर किनबेच गर्ने क्रममा फोन नउठ्ने समस्या रहेको उनले दाबी गरे ।

पोखरामा रहेको स्टक ब्रोकर नम्बर १४ नेपाल स्टक हाउसबाट अनलाइन युजर आइडइी र पासवर्ड लिन सकस हुने तर पेमेन्टमा भने सहज रहेको सुनाउँछन् । 

यस्तै दाङस्थित ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजमा लगानीकर्ता र ब्रोकरबीचको आपसी समझदारीमा सेयर किनबेच समयमै हुने सुरेन्द्र रिजाल सुनाउँछन् । दाङमा लगानीकर्ताको राम्रो उपस्थिति रहेको दाबी गरेका उनले डिम्याट खाता खोल्न र केवाइसीमा भने निकै गुनासो रहेको बताए । ग्राहकको चाप भएका कारण समेत व्यापक गुनासो भएको हुनसक्ने उनको दाबी छ । सेयर बजारका विषयमा लगानीकर्तालाई तालिम र सचेतना प्रदान गर्न ब्रोकरसमक्ष बारम्बार माग गर्दै आइरहेको तर ब्रोकरले हालसम्म सम्बोधन गर्न चासो नदेखाएको उनको जिकिर छ ।

बनेपास्थित स्टक ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटीजमार्फत सेयर कारोबार गर्दै आइरहेकी अनिता मैनालीका अनुसार ब्रोकरले आइपीएसको लिमीट सकिएको बहाना बनाउँदै सेयर बिक्रीबापतको भुक्तानी गर्न २१ दिनसम्म ढिलाइ गर्ने गरेका छन् ।