काठमाण्डौ । दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन्। 

स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि वैद्यलाई आज(आइतबार) अपराह्न डिस्चार्ज गरिएको हो। 

दमको समस्या बढेपछि वैद्यलाई गत आइतबारबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो। 

सो क्रममा उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन्। 

वैद्य अस्पतालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाँडलगायतका नेता तथा उच्च सरकारी अधिकारीले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए। 

डिस्चार्ज हुँदै गर्दा नेता वैद्यले आफ्नो उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टिमप्रति आभार व्यक्त गरेका थिए।