काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० का लागि सार्वजनिक मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने, बाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने ठहर गरेको छ।

केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो मौद्रिक नीति ल्याएको परिसंघको बुझाइ छ। परिसंघले स्ट्यागफ्लेसनतिर बढ्दै गएको अर्थतन्त्रलाई जोगाउन दोहोरो नीति अवलम्बन गर्न सुझाव दिएको थियो।

उत्पादनमूलक क्षेत्र र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता गर्नुपर्ने परिसंघको माग सम्बोधन गर्नेतर्फ राष्ट्र बैंक अगाडि बढेकोमा परिसंघले स्वागत गरेको छ। निर्यातजन्य, खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालनलगायत निजी क्षेत्रलाई सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। यस्तो सुविधा परिसंघको सुझावअनुरुप सम्पूर्ण उत्पादनमूलक उद्योगमा दिइनुपर्ने माग गरेको छ। 

मौद्रिक नीतिको प्रथम समीक्षामा थप उत्पादनमूलक क्षेत्र समेत समेटिनेमा परिसंघ विश्वस्त छ। यो सुविधा अधिकतम रु. २ करोडको कर्जामा सीमित हुने भनिएकोले यसलाई राष्ट्र बैंकले आगामी दिनहरूमा सच्याई ठूला कर्जामा समेत विस्तार गर्ने अपेक्षा परिसंघको छ।

बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात प्रयोजनका लागि वा पुँजीकोषको रुपमा गणना गर्न सकिने अवधि थप गर्ने व्यवस्था मिलाउने, ग्रिन फाइनान्सिङलाई प्रोत्साहन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय हरित वण्ड निष्काशन गर्नुपर्ने परिसंघका सुझाव समेटिएकोमा स्वागत गरेको छ। 

यसैगरी पूर्ण डिजिटल बैंकको स्थापना गर्न राष्ट्र बैंकले आवश्यक ऐनहरु संशोधन गर्ने घोषणा, एफडीआई अटोमेटिक रुटमार्फत स्वीकृत गर्ने र यसलाई सहजीकरण गर्न विदेशी लगानीसँग सम्बन्धित विभिन्न ऐन, नियमावली तथा विनियमावलीलगायत परिसंघले उठाउँदै आएको कानुन संशोधनका विषयमा समेत राष्ट्र बैंक सकारात्मक भएको परिसंघद्वारा जारी विगज्ञप्तिमा उल्लेख छ। 

बैंक तथा वित्तिय संस्था मर्जर र प्राप्तिको समयमा धितोपत्र कारोबार नरोक्ने व्यवस्थाको परिसंघले स्वागतयोग्य कदम भएको जनाएको छ। 

कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात, र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा पुनरकर्जा सुविधालाई निरन्तरता दिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यो सुविधा पर्यटन क्षेत्रलाई पनि प्रदान गर्न र पुनरकर्जालाई उत्पादकत्व तथा रोजगारी बृद्धिसंग जोडेर अगाडी बढाउन परिसंघ आग्रह गर्दछ। 

अर्थ व्यवस्थालाई चलायमान बनाउन उत्पादनशील क्षेत्रलाई सहज नीति ल्याउन परिसंघले दिएका कतिपय सुझाव राष्ट्र बैंकले सम्बोधन गरे पनि अनिवार्य नगद मौज्दात, वैधानिक तरलता, बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर बढाउनाले कर्जाको ब्याजदर बढ्ने निश्चित छ। ‘यसले बजारमा विद्यमान तरलतामा समेत थप दबाब सिर्जना हुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जालाई नियन्त्रण गर्दै मौद्रिक नीतिले कसीलो रुप धारण गरेको छ। चालु मौद्रिक नीतिका कारण बजारको समग्र मागमा थप संकुचन आई रोजगारी सिर्जनासमेत प्रभावित हुने देखिन्छ।’ 

कर्जाको लागत महँगो हुँदा नेपाल सरकारले वित्तनीतिमार्फत लिएको ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न कठिन हुने भएकोले बाह्य क्षेत्र सन्तुलनमा आँच नआउने गरी समग्र मागलाई समन्वय गर्नेतर्फ मौद्रिक नीतिको आगामी प्रथम त्रैमासिक समीक्षामा नीतिगत दर पुनरावलोकन गर्न परिसंघ आग्रह गर्दछ।