काठमाण्डौ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मंसिर पहिलो साता गर्ने भएको छ। 

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार अहिले राष्ट्र बैंक मौद्रिक नीति त्रैमासिक समीक्षाका विषयमा गृहकार्य गरिरहेको छ। ‘सम्भवतः मंसिरको पहिलो साता मौद्रिक नीतिको त्रैमासिक समीक्षा हुनेछ’, उनले भने।

बजारमा अहिले राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको सीमा र सीडी रेसियोका विषयमा केही परिमार्जन गर्न सक्ने अनुमान गरिएको छ। ‘यी नीतिमा हाल परिमार्जन गर्ने विषयमा कुनै पनि छलफल भएको छैन, राष्ट्र बैंकले तत्काल सीडी रेसियो तलमाथि गर्ने सम्भावना पनि छैन’, उनले भने। 

हाल बैंकहरुमा अधिक तरलता नै झन्डै २० अर्ब रहेको पोखरेल बताउँछन्। ‘त्यसैले तरलता अभाव भएको भन्न मिल्दैन’, उनले भने, ‘केही बैंकहरुको सीडी रेसियो टाइट भएको हुन सक्छ। यसलाई व्यवस्थापन गर्न राष्ट्र बंैकले १ खर्ब रुपैयाँबराबर पुनरकर्जा परिचालन गर्न लागेको छ।’ 

सहप्रवक्ता पोखरेलले माग भएअनुसार पुनरकर्जाको पैसा राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउने बताए। ‘यस्तो पैसा राष्ट्र बैंकले बैंक तथा वित्तीयहरुलाई ३ प्रतिशतमा दिने गर्छ भने ऋणिले ५ प्रतिशतमा पाउने गर्छन्’, उनले भने। 
सीडी रेसियो व्यवस्थापनका लागि पुनरकर्जाको पैसाले बैंकहरुलाई सहज हुने पनि पोखरेलको तर्क छ। 

हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ४५ खर्ब २७ अर्ब रुपैयाँ कुल कर्जा परिचालन गरेका छन्। 

हाल सीडी रेसियो ८९.५५ प्रतिशत र अन्तरबैंकिङ ब्याजदर ४.९६ प्रतिशत रहेको छ।