-अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहीबार साँझ सार्वजनिक गरेको छ । समीक्षामा त्यति ठूला परिवर्तनहरु गरिएका छैनन् । 

समीक्षामा उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रको ब्याजदरभन्दा कम गर्नुका साथै मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने भनिएको छ। 

केही दिनदेखि रुमल्लिएको सेयर बजारलाई मौद्रिक नीतिको समीक्षाले कस्तो असर गर्ला भन्ने आम–लगानीकर्ताहरूमा चासोको विषय बनेको छ।

मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर श्रेष्ठ समीक्षाले अहिले अर्थतन्त्रमा भएको तरलताको समस्या सम्बोधन नगरेको बताउँछन्। श्रेष्ठ भन्छन्–‘तरलता सरकारको पुँजीगत खर्चमा नै निर्भर भएको अवस्था छ। बैंकहरूबीच नै निक्षेप तानातान छ। कर्जा पाउन पनि गाह्रो छ। राष्ट्र बैंकले समीक्षामा वैदेशिक ऋण तथा अनुदान भित्राउन सहज हुने नीति अनुसरण गरेको भए केही हदसम्म तरलतामा भएको समस्या सहज हुन्थ्यो।’

दीर्घकालीन रूपमा समग्र अर्थतन्त्रको हितमा समीक्षा आए पनि तत्काल भएका समस्याहरूको समाधानमा उदासीन देखिएको श्रेष्ठको दाबी छ । ‘ब्याजदर बढ्दा बजारमा नकारात्मक असर गर्ने गरेको छ।’ श्रेष्ठ भन्छन्–‘तर अहिले आत्तिनुपर्ने अवस्था भने छैन।’ 

राजनीतिक अस्थिरता भएकाले बजार केही महिना साइडवेजमा जाने उनको अनुमान छ । ‘त्यसैले सावधानी अपनाएर राम्रा कम्पनीहरूमा लगानी गर्दा उचित हुन्छ।’ उनले भने–‘निश्कर्षमा समीक्षा बजारलाई उत्साहित बनाउने किसिमको आएन ।’

मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालका अध्यक्ष मेखबहादुर थापा मौद्रिक नीतिको अपेक्षित समीक्षा आएकाले बजारलाई ठूलो असर नगर्ने बताउँछन्। थापा भन्छन्–‘समीक्षाले बजारलाई केही दिन असर गर्ला। तर दीर्घकालीन रूपमा ठूलो असर गर्ने भने देखिँदैन।’ 

राष्ट्र बैङ्कको ४/१२ को नीतिदेखि नै बजारलाई असर गरेकाले समीक्षाको ठूलो प्रभाव अब नपर्ने उनको तर्क छ । 

सेयर बजारका सक्रिय लगानीकर्ता केशव कोइराला अर्थात् काका पनि मौद्रिक नीतिले बजारलाई त्यति ठूलो प्रभाव नपर्ने बताउँछन्। कोइराला भन्छन्,–‘तीन चार महिनाअघिदेखि बजारमा कार्यान्वयन भइसकेको कुरा समीक्षामा आएकाले बजारलाई त्यति ठूलो असर नहुने देखिन्छ ।’

नीतिमा मुख्य दुई कुरा उल्लेख गरिएको छः सेयर कर्जामा दिने ऋणको मात्रा कम गर्ने र अन्य क्षेत्रहरूको तुलनामा उत्पादन मूलक क्षेत्रमा सस्तो ब्याजदरमा लोन दिने। कोइराला भन्छन्–‘तरलता सङ्कटका कारण दसैँतिहारदेखि सेयर लोन रोकिए बराबर नै छ। लोन नै नदिएको क्षेत्रमा लोन कम गर भन्नुको कुनै औचित्य छैन। त्यस्तै सेयर लोनमा २–३ प्रतिशतले ब्याजदर बढिसकेको छ । त्यसैले कार्यान्वयन भइसकेको कुरा नीतिमा आएकाले बजारलाई त्यति ठूलो असर नगर्ने देखिन्छ।’

समीक्षाको विषयमा विश्लेषण गर्दै नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारका भन्छन्–‘४र१२ को क्यापमा राष्ट्र बैंकले केही परिवर्तन गर्ला कि भन्ने हाम्रो आशा थियो। तर अहिले तत्काल केही परिवर्तन नभएकाले बजारलाई केही दिन भने असर गर्न सक्ने देखिन्छ।’

समीक्षामा सेयर बजार, आयात, घरजग्गा लगायतका मार्जिन प्रकृतिका कर्जामा पुनरावलोकन गर्ने भनिएको उल्लेख गर्दै रौनियार भन्छन्–‘त्यसैले राष्ट्रबैंकले सर्कुलर जारी गरेर केही परिवर्तन भने गर्न सक्छ।’

ब्याजदर बढेकाले केही दिनदेखि त्यसको प्रभाव बजारमा भएको देखिन्छ। बैशाखमा चुनाव हुने भएकाले चुनावको पैसाले अर्थतन्त्र चलायमान हुन्छ। त्यस्तै एमसीसी पास हुने सम्भावना अधिक छ। त्यसैले अहिले राम्रा कम्पनीहरूको सेयर किन्ने बेला भएको रौनियारको सुझाव छ । 

स्टक ब्रोकर्स एसोसिएसन  नेपालका अध्यक्ष सन्तोष मैनालीले समीक्षामा सेयर बजारलाई त्यति ठूलो नकारात्मक असर गर्ने कुरा नआएको बताए। मैनाली भन्छन्–‘समीक्षामा आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको जोखिम भारमा पुनरावलोकन गरिने भनिएको छ। बढ्ने वा घट्ने भन्ने सर्कुलरमा थाहा हुन्छ। अहिले बैंकहरू ऋण नै दिनसक्ने अवस्थामा नभएकाले त्यसले त्यति ठूलो असर भने नगर्ने देखिन्छ।’

त्यस्तै सेयर, घर जग्गा, हायर पर्चेज लगायत विभिन्न किसिमको कर्जा साथै आयातलाई डिसकरेज गरिने भनिएको छ। त्यसैले थप पुँजीको आवश्यकता हुन्छ। थप पुँजी आउने बाटो खोलिदिएमा समग्र बजार साथै अर्थतन्त्रलाई सकारात्मक प्रभाव पर्ने मैनालीको विश्लेषण छ ।