काठमाण्डौ । मतदान हुनुअघिको अन्तिम ४८ घण्टा अर्थात मौन अवधि हिजो राति १२ बजेदेखि सुरु भएको छ । यो अवधिमा गर्न नहुने भनी निस्तेज गरिएका काम नगर्न नगराउन निर्वाचन आयोगले आह्वान गरेको छ । 

मतदान हुनुअघिको अन्तिम ४८ घण्टामा मतदातालाई प्रलोभनमा पार्नका लागि विभिन्न गतिविधि हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न निर्वाचन आयोगले प्रत्येक चुनावको मतदानअघि मौन अवधिको कडाईपूर्वक पालना गर्न आह्वान गर्ने गरेको छ । तर, जनस्तरमा पनि मौन अवधिमा तोकिएको आचारसंहिताको पालनाको अवस्था शून्य बराबर हुने गरेको छ । निर्वाचन आयोगको कमजोर अनुगमनले यही ४८ घण्टामा उम्मेद्वारहरुले मतदातालाई प्रभावित पार्नका लागि मदिरासहितको भोजभतेर लगाउनेदेखि पैसा बाँड्नेसम्मको काम गर्ने गरेका छन् । 

निर्वाचन आयोगका पूर्व निर्वाचन आयुक्तहरुका अनुसार नेपालमा चुनावको अन्तिम घडीमा भोजभतेर खुवाउने, गरीब र अभावले ग्रस्त क्षेत्रहरुमा घरैपिच्छे पैसा बाँड्ने,  विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई आफ्नो पक्षमा पार्नका लागि खरीद गर्ने लगायतका गतिविधि नौलो भने होइन ।

यसपटक पनि आयोगले सुक्ष्म अनुगमन नगर्ने हो र यसमा राजनीतिक दलहरुले सहयोग नगर्ने हो भने चुनावी आचारसंहिता विपरीतका गतिविधि नरोकिने उनीहरुको चिन्ता छ । 

निर्वाचन आयोगले हिजो एक पत्रकार सम्मलेन गर्दै मतदानको ४८ घण्टा अघिबाट निषेधित गरिएका गतिविधिलाई नियन्त्रण गर्न कानुनले तोके विपरीतका कार्य गर्नेहरूलाई २५ हजार रुपियाँ जरिवाना गर्न निर्देशन दिइएको बताएको छ । तर, यसरी कारबाहीमा पर्नेहरुको संख्या प्रत्येक निर्वाचनमा अत्यन्त न्यून हुन्छ । 

पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त इला शर्माकाअनुसार आचारसंहिताले गर्नुहुँदैन भनेका कामहरु रोक्न राजनीतिक दलहरुको सहयोग उत्तिकै आवश्यक छ । आयोगले नै बनाएको आचारसंहिताको कार्यान्वयनमा बग्रेल्ती चुनौतिहरु छन् । 

निर्वाचन कसुर तथा सजाय ऐनमा भएको व्यवस्थाअनुसार कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिबाट मतगणनाको काम पूरा नभएसम्म कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गर्ने वा गराउन समेत पाइँदैन । त्यस्तो काम गर्नेलाई पनि २५ हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ । 

यस्तै, आयोगले चुनावी प्रचार सामाग्रीसँग सम्बन्धित सामाजिक सञ्जालका पोस्टहरु यो अवधिमा सेयर नगर्न तथा कमेन्ट समेत नगर्न भनेको छ । आज बिहानदेखि सामाजिक सञ्जालमा सरसर्ती हेर्दा यो उर्दीको कार्यान्वयन भएको छैन । 

निर्वाचन आयोगका अनुसार गए राति १२ बजेदेखि ४८ घण्टे मौन अवधि सुरु भइसकेको छ । यो अवधिमा निम्न गतिविधि गरे कारबाहीको भागिदार बन्नुपर्छ:

  • निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन,  कार्यशाला गोष्ठी गर्न नपाइने
  • मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने
  • कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने
  • सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न, गराउन नहुने
  • प्रचार प्रसार वा मत माग्न साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा अन्य कुनै साधनको प्रयोग गर्न नहुने
  • मतदान सुरु हुनु तीन घण्टा अघिदेखि मतदान कार्य नसकिएसम्म कसैले पनि मतदाता वा कर्मचारीलाई बाधा पुर्‍याउने काम गर्न नहुने
  • बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, कुनै पनि प्रकारको जुलुस, प्रदर्शन, समारोह वा सभा गर्न र होहल्ला वा हुल हुज्जत गर्न नमिल्ने
  • मतदान केन्द्र आसपासको भवन र निजी क्षेत्रमा शान्ति भङ्ग गर्ने वा भय त्रासको वातावरण बनाउने वा चुनाव बिथोल्ने कुनै पनि गतिविधि गर्न नमिल्ने
  • दल, उम्मेदवार र भातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन र प्रचार प्रसारका सामग्री हटाउनुपर्ने