काठमाण्डौ । कहिलेकाही सानो–सानो कुराले समेत ठूलै परिवर्तन गरिदिन्छ । सानो–सानो प्रयास जोडिइँदै जाँदा यति ठूलो बनिदिन्छ कि, जुन कुरा ठूला र दिमागवालाले समेत गर्न सकिरहेका हुँदैनन् । अमेरिकाको एक कम्पनी बीस्वीट लिमोनेड(हाल मी एण्ड द लेमोनेड) यसको एक शानदार उदाहरण हो । जहाँ एक सानो बच्चाले मौरीको टोकाईबाट पाठ सिक्दै थालेको प्रयास अहिले करोडौंको सम्पत्ति भएको शानदार कम्पनीको रुपमा स्थापित भएको छ । 

११ वर्षे सीइओलाई १ करोड डलरको कन्ट्रयाक्ट
टाइम र डेलीमेलमा छापिएको खबरका अनुसार हाल लेमोनेड(कागतीपानी) बनाउने कम्पनी मी एण्ड द बी लेमोनेडलाई सुपरमार्केट चेन होल फूड्सको तर्फबाट १.१ करोड डलरको कन्ट्रयाक्ट मिलेको छ । कन्ट्रयाक्ट अनुसार यो कम्पनीले आफ्नो कागतपानीको उत्पादनलाई अमेरिकाको ४ राज्यका ५५ स्थानमा पुर्याउनुपर्नेछ । यो सम्पूर्ण खबरहरुको विशेष कुरा यो छ कि, कन्ट्रयाक्ट पाउनेवाला कम्पनीका सीइओ मिकाइला उल्मर मात्र ११ वर्षकी छिन् । मिकाइलाले मात्र ९ वर्षको उमेरमा यो कम्पनी खोलेकी थिइन् । प्रडक्टको सफलतासँगै अहिले यो कम्पनी आफ्नो बिस्तार तथा प्रचारप्रसारमा जुटेको छ । 

यसरी चम्कियो भाग्य

आफ्नो वेबसाइट ‘मी एण्ड बी लेमोनेड’मा मिकाइलाले लेखेकी छिन् कि उनी जब सानी थिइन, तब उनलाई दुईपटक मौरीले टोकेको थियो । यसकारण मौरी देख्ने बित्तिकै मिकाइला डराउन थालिन् । उनको डर भगाउनका लागि उनकी आमाले उनलाई महको फाइदाको बिषयमा बताउन थालिन् । आमाले सिकाएपछि मिकाइलाले आफ्नो स्कूलको प्रतिस्पर्धामा महसँग जोडिएको प्रडक्ट प्रस्तुत गर्ने फैसला गरिन् । प्रोजेक्टको रुपमा प्रतिस्पर्धामा सामेल मह मिसिएको कागतपानीको आइडियालाई सबैले प्रशंसा गरे । यो आइडियाको सर्वत्र प्रशंसा भएपछि स्थानीय बजारहरुमा छिटफुट रुपमा उनले आफ्नो उत्पादनलाई पठाउन थालिन् । जब सेल्समा अनपेक्षित बढोत्तरी देखियो, तब मिकाइलाले आफ्नो प्रडक्टलाई ठूलो रुपमा बिस्तार गर्ने फैसला लिइन् । यस्तो फैसला लिँदा मिकाइला मात्र ९ वर्षकी थिइन । 

फोब्र्सका अनुसार मिकाइलाले आफ्नो कम्पनीलाई व्यवसायिक रुपमा अगाडि बढाउने काम ९ वर्षको उमेरमै गरेकी थिइन् । सन् २०१५ को एक रियालिटी शोमा फूबु कम्पनीका सीइओ डायमण्ड जोनले उनको कागतीपानीको बिजिनेश आइडियालाई ६० हजार डलरको लगानी प्रस्ताव गरेका थिए । त्यसबेलासम्म उल्मरको कम्पनीको नाम ‘बीस्वीट लेमोनेड’ थियो । उल्मर आफैंले लाइभ टिभीमा आफ्नो प्रडक्टको बिषयमा आफैंले दमदार प्रस्तुती दिएकी थिइन् । जोनले उमेर सानो भए पनि उल्मरमा रहेको गज्जबको आत्मविश्वासका लागि आफूले ६० हजार डलरको लगानी प्रस्ताव गरेको स्पष्ट पारेका छन् । हाल यो कम्पनी अमेरिकाको कयौं राज्यमा प्याकेडमा लेमोनेड(कागतपानी) बिक्री गर्छ । रिटेल चेन होल फूड्ससँग भएको सम्झौतासँगै यो कम्पनीले कयौं नयाँ फ्लेभरमा आफ्नो उत्पादनलाई उतारेको छ । 

मिकाइला उल्मरलाई ११ वर्षको उमेरमै अमेरिकामा ‘टिन प्रेनियर अफ दि इयर’ छनौट गरिएको छ । यसका साथै हालै मिकाइलालाई  अमेरिकी राष्ट्रपति बराक ओबामाले डिनरका लागि ह्वाइटहाउसमा बोलाएका थिए, सो क्रममा ओबामाले मिकाइलाको आइडिया र पौरखको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यसका साथै सिएटलमा २० अप्रिलमा भएको एक कार्यक्रममा माइक्रोसफ्टका सत्या नडेलाले पनि मिखाइलाको खुलेरै तारिफ गरेका थिए । 

मिकाइलाको सबैभन्दा ठूलो विशेषता र तारिफयोग्य कुरा नै उनको उमेर र सानो उमेरमा गरेको अपत्यारिलो प्रगति हो । त्यति मात्र होइन, उनका अनेकन विशेषता छन्, जसले उनलाई अन्य कर्पोरेट हाउसभन्दा फरक बनाइदिन्छ । यति सानो उमेरमा उनी यस्तो काम गरिरहेकी छिन्, अमेरिकामा यस्तो काम मानिस रिटायर्ड लाइफमा मात्र सोच्छ र गर्छ । हाल मिकाइला आफ्ना साथीहरुलाई समेत आफ्नो बिजिनेश आइडियामा काम गर्न पे्ररित गर्ने अभियानमा छिन् । यसका साथै, मिकाइलाले आफ्नो नाफाको २० प्रतिशत हिस्सा मौरीबाट बच्न र बचाउनका लागि विभिन्न राज्यहरुमा चलिरहेको अभियानमा खर्च गर्ने गर्छिन ।