काठमाण्डौ । नेपाल पुँजी बजार लगानीकर्ता संघले मंगलबार नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघकी अध्यक्ष राधा पोखरेलद्वारा जारी ध्यानाकर्षणपत्रमा लघुवित्तमा बैंकहरुलाई लगानीमा कडाइ गर्नु राम्रो भए पनि निर्देशन कडा रुपमा ढिलो आउनुमा संघको गम्भीर आपत्ति रहेको जनाइएको छ। ‘बैंकहरुले २०७८ जेठ १० गतेसम्म किनेको लघुवित्तको सेयर २०७८ पुस मसान्तसम्म बिक्री गरिसक्नु भन्ने निर्देशन आपत्तिजनक छ’, ध्यानाकर्षणपत्रमा उल्लेख छ। 

निर्देशन पुनर्मूंल्यांकन गरी बैंक तथा वित्तीय संस्थाले किनेको लघुवित्तको सेयर २०८० साल असार मसान्तसम्म बिक्री गरिसक्नु भन्ने निर्देशन अविलम्ब जारी गरिनुपर्ने संघले माग गरेको छ। ‘ अहिलेको समयमा राष्ट्र बैंकलाई बेमौसमी बाजा बजाउनु थियो भने आमलगानीकर्ताले यति ठूलो कारोबारपश्चात ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आमलगानीकर्तालाई त्रसित बनाएको छ’, संघले भनेको छ, ‘यसमा हाम्रो घोर आपत्ति रहेको छ।’ 

पछिल्लो समयमा मौलाउँदै गएको सेयर बजारलाई ब्रेक लगाउन राष्ट्र बैंकबाट यस्तो निर्देशन आएको संघको ठहर छ। अन्डरभ्यालुड भएका राम्रा कम्पनीको सेयरमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्ने धारणा पनि संघको रहेको छ। 

संघले राष्ट्र बैंकको पछिल्लो कदमबाट आमलगानीकर्ता त्रसित नहुन र विवेकपूर्ण ढंगले आफ्नो कारोबार गर्न अपिल पनि गरेको छ।