– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । देशका धेरै जलविद्युत कम्पनीहरुमध्ये चिलिमे जलविद्युत सबैभन्दा धेरै लगानीकर्ताको आकर्षणमा पर्न सफल कम्पनी हो। सन् १९९५ मा स्थापित यो कम्पनीले २००२ अगस्ट २५ बाट व्यावसायिक रुपमा विद्युत उत्पादन गरेको पाइन्छ। 

रसुवा जिल्लामा यो कम्पनीको २२.१ मेगावट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ। यो कम्पनीका भागिनी कम्पनीअन्तर्गत ३ कम्पनीबाट २७०.३ मेगावट विद्युत उत्पादनको चरणमा छ। जसअन्तर्गत साञ्जेन जलविद्युतअन्तर्गत ४२.५ मेगावट र अप्पर साञ्जेनअन्तर्गत १४.८ मेगावट छन्। यी कम्पनीमा चिलिमेको ३८ प्रतिशत सेयर लगानी छ। 

दोस्रोमा १०२ मेगावटको मध्य भोटेकोशी जलविद्युत कम्पनी पर्छ। यसमा पनि चिलिमेको ३८ प्रतिशत नै लगानी रहेको छ। 

त्यसैगरी रसुवागढी हाइड्रो कम्पनीअन्तर्गत १११ मेगावटको आयोजनामा चिलिमेको ३३ प्रतिशत लगानी छ।

चिलिमेको सेयरपुँजी ६ अर्ब ७५ करोडबराबर रहेको छ । कम्पनीको रिजर्भमा ३ अर्ब ६४ करोड २१ लाख रुपैयाँ रहेको छ। 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ७६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस्तो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिममा ७० करोड १८  लाख रुपैयाँ थियो। 

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको ईपीएस ११.३७ रुपैयाँ, बुक भ्यालु १५३.९४ रुपैयाँ र रिटर्न अन इक्विटी ७.३९ प्रतिशत रहेको छ। कम्पनीको १० वर्षको औसत वार्षिक लाभांशदर २८.२ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा 

यो कम्पनीको दोस्रो बजारमा ३६६ रुपैयाँमा कारोबार भएको छ भने फियर एन्ड ग्रिड मिटरमा ४० को जोनमा न्युट्रल सेन्टिमेन्ट देखिएको छ। यस्तो मिटर यदि २० भन्दा तल भएमा लगानीकर्ता अधिक डराएको र ८० भन्दा माथि भएमा अधिक हौसिएको बुझिन्छ। यो कम्पनीका ५२ साताको उच्च मूल्य ६२० रुपैयाँ र न्यून मूल्य ३५४ रुपैयाँ रहेको छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डका आधारमा यो कम्पनीको सेयरमूल्य बियरिस जोनमा रहेको देखिन्छ। यदि मूल्यरेखाहरु ट्रेन्ड लाइनभन्दा माथि रहेमा बुलिस र तल रहेमा बियरिस भएको बुझिन्छ। हाल यो कम्पनीको मूल्यरेखा ट्रेन्ड लाइनभन्दा तल रहेकोले बियरिस रहेको मानिन्छ। 

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा

बोलिंगर ब्यान्डअन्तर्गत यो कम्पनीको मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको देखिन्छ। ब्यान्डको तल्लो तहबाट फर्केको मूल्यरेखाले आजको कारोबारमा पनि मध्य ब्यान्डमा सामना गरेको छ। यदि आगामी कारोबारमा मध्य ब्यान्डबाट ब्रेक गरेर माथि गएमा कम्पनीको सेयरमा बुलिस यात्रा तय गरेको बुझिनेछ। 

त्यसैगरी म्याक्डीमा भने बुलिस क्रसओभर भएको छ। हिस्टोग्रामहरु पोजिटिभ र लामा–लामा हुँदै गएको देखिन्छ।(हेर्नुहोस् मुख्य तस्बिरमा हरियो एरो) 

आरएसआई पनि २६ को तहबाट फर्केर ४७ को जोनमा पुगेको छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– ४०३
प्रतिरोध २– ४४१
प्रतिरोध ३– ४६७

पिभट प्वइन्टः ३७७

घटेमा सपोर्ट 

सपोर्ट १– ३३९
सपोर्ट २– ३१३
सपोर्ट ३– २७५

निष्कर्ष

आधारभूत रुपमा निकै बलियो रहेको चिलिमे जलविद्युत कम्पनीको निकट भविष्यमा २७० मेगावट थप ऊर्जा उत्पादन हुने देखिन्छ। अघिल्लोपटकको बुलमा झन्डै ६२० रुपैयाँसम्म पुगेको यो कम्पनीको सेयरमूल्य हाल ३६६ रुपैयाँमा रहेको छ। यो कम्पनीको सेयर अल्पकालका लागि भन्दा दीर्घकालका लागि लगानी गर्न उत्तम रहेको देखिन्छ। चुक्तापुँजी ६ अर्ब ७५ करोड रहेको यो कम्पनीको ईपीएस अघिल्लो वर्षको तुलनामा गत वर्ष केही सुधार भएको देखिन्छ। रिटर्न अन इक्विटीमा पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष  ६.९२ बाट ७.३९ प्रतिशतले बढेको छ। 

प्राविधिक रुपमा फियर एन्ड ग्रिड मिटरमा न्युट्रल सेन्टिमेन्ट रहेको बजारमा म्याक्डीमा भने बुलिस क्रस नै देखिएको छ। तर, बोलिंगर ब्यान्डमा भने मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।