काठमाण्डौ । आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ।

नेपाल प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै १ लाख म्यादी प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले चैत ६ गतेदेखि चैत ११ गतेसम्म दरखास्त दिनुपर्नेछ। दरखास्त फाराम महानगरीय प्रहरी परिसर (काठमाण्डौ, ललितपुर, भक्तपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ। 

दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म उम्मेदवार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। 

सुरक्षा निकायमा २०७८ साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रलिलित पेस गर्ने व्यक्तिहरु, पूर्वसुरक्षाकर्मी र पूर्ववनरक्षक, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरी सेवा निवृत्त नेपाली नागरिक र विगतका निर्वाचनहरुमा म्याद प्रहरीका रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्याअवधि बढीमा ४० दिनसम्मको हुनेछ। म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवानसरह (आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ) बढीमा ४० दिनसम्मका लागि व्यक्तिगत बैंक खातामा रकम जम्मा गरिदिने गरी जम्मा तलब ३० हजार २४०, खाद्यान्नबापत प्रतिव्यक्ति एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोसाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले उपलब्ध गराइनेछ। 

निर्वाचनका क्रममा खटिन म्याद प्रहरीहरुलाई खटिएको ठाउँमा आउन र जाने तयारीस्वरुप प्रति म्याद प्रहरी एकपटकका लागि १ हजारका दरले तयारी खर्च उपलब्ध गराइनेछ । बीमालगायतका अन्य सुविधा नेपाल सरकारले तोकेबमोजिम हुनेछ।