काठमाण्डौ । नेपालमा म्युचुल फण्डहरुको संख्या ११ पुग्ने भएको छ । धितोपत्र बोर्डले आइतबार लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमीटेडलाई उसको दोश्रो म्युचुल फण्ड ‘लक्ष्मी इक्वीटी फण्ड’ संचालनको अनुमति दिएको हो ।

यसअघि लक्ष्मी भ्यालु फण्ड संचालन गर्दै आएको लक्ष्मी क्यापिटल मार्केटले १ अर्ब बराबरको म्युचुल फण्ड संचालनको अनुमति पाएको हो ।

बोर्डले ७ वर्षे बन्दमुखी म्युचुअल फण्ड संचालनको अनुमतिसँगै आह्वानपत्र प्रकाशनको तयारीमा जुटेको छ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडका एक अधिकारीका अनुसार बैशाखभित्रै आह्वान पत्र प्रकाशन गरी सर्वसाधारणलाई लगानीको अवसर दिइनेछ । ती अधिकारीका अनुसार १० रुपैयाँ प्रति इकाई मुल्यको कुल १० करोड इकाईमा सर्वसाधारणलाई लगानीको अवसर दिइनेछ ।

लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले यसअघि लक्ष्मी भ्यालु फण्ड १ नामको म्युचुअल फण्ड संचालन गरेको छ । फागुन मसान्तसम्म यो फण्डको खुद सम्पत्ति मुल्य ११ रुपैयाँ  ५५ पैसा रहेको छ । उसको खुद सम्पत्ति मुल्य प्रति इकाई मुल्य १० रुपैयाँ भन्दा माथि नै छ ।

यसअघि बोर्डले २०७३ कात्तिक २४ गते ६० करोडको एनआइबिएल प्रगति फण्ड, भदौ १४ गते १ अर्बको एनएमबी हाइब्रीड फण्ड १ र सोही मितिमा १ अर्ब २५ करोडको नवील इक्वीटी फण्ड संचालनको अनुमति दिएको थियो ।