– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) लामो समयसम्म नेतृत्वविहीन रह्यो। लामो समयसम्म रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को निर्णयले रमेशकुमार हमाललाई नियुक्त गरेको छ। बोर्डमा उनको कार्यकाल दुई वर्षको मात्र रहनेछ। अध्यक्ष हमालले आफ्नो कार्यभार समालेको केही दिनमात्र भएको छ। 

धितोपत्र बोर्डले बजारमा ब्रोकर, मर्चेन्ट, नेप्सेलगायत अन्य थुप्रै संस्थाको नियमनकारीको भूमिका निर्वाह गर्ने भएकाले बोर्डको नेतृत्वको नियुक्तिमा वित्तीय जानकार, लगानीकर्ता एवं सरोकारवालाले नजिकबाट चासो साथ हेर्दै आएका थिए। कोरोना महामारीपश्चात सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दो छ। करिब डेढ वर्षको समयमै झन्डै ३०–३५ लाख डिम्याट खुलेका छन्। बजारमा सहभागीहरुको संख्या बढेसँगै बजार विस्तार र सुधारका लागि धितोपत्र बोर्डमा थप चुनौती थपिँदै गएका छन्।

बजार सुधार र विस्तारका लागि ब्रोकर लाइसेन्स वितरण, नयाँ स्टक एक्सचेन्ज, डेरिभेटिभ मार्केट सञ्चालनलगायतका कामहरु हुनुपर्ने सेयर बजारका जानकार, अगुवा, ब्रोकरका साथै अन्य सरोकारवाला बताउँदै आएका छन्। यी सबै कामहरुको जिम्मेवारी बोर्ड अध्यक्षको काँधमा आउने भएकाले पनि बोर्ड अध्यक्षको नियुक्ति चासो साथ हेरिएको थियो। 

अहिले कतिपय उल्लेखित विषयमा बोर्ड, नेप्सेलगायत अन्य निकायबाट काम पनि अघि बढिसकेको छ।

धितोपत्र बोर्ड, नेप्से, सीडीएससीलगायत अन्य संस्थामा राजनीतिक नियुक्ति हुने भएकाले नेतृत्व गर्न आउने सेटिङबाट आउने लगानीकर्ताका साथै लगानीकर्ताका अगुवाहरुले आरोप लगाउँदै आएका छन्। लगानीकर्ताले नियुक्त भएकाहरुको योग्यता र क्षमता समेतमा प्रश्न गर्दै आएका छन्। उक्त आरोपबाट नवनियुक्त अध्यक्ष हमाल पनि अछुतो रहेनन्।

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले आफू सेटिङबाट नभएर आफ्नो योग्यता र क्षमताका कारण बोर्ड अध्यक्ष नियुक्त भएको प्रस्ट पारेका छन्।

‘यसपटक सरकारले एक्सपर्टिज, टोटल्ली अर्को क्षेत्रबाट आएको मान्छेलाई बोर्डको नेतृत्व गर्ने अवसर दिएको छ’, उनले भने, ‘भन्नेले त नियुक्तिमा सेटिङलगायत जे पनि भन्छन्, मेरो विचारमा यसपटक सरकारले महत्वपूर्ण र ऐतिहासिक निर्णय गरेको छ। सरकारले विश्वास साथ मेरो नियुक्ति गरेकाले सरकारको विश्वासलाई पूरा गर्ने गरी काम गरेर देखाउने छु।’

व्यक्तिमाथि शंका गर्नुअघि उसको एक्सपर्टिज हेरेरमात्र धारणा बनाउनुपर्ने हमालको भनाइ छ। ‘सेटिङमा आएको भन्ने व्यक्तिहरुको पछाडि म लाग्दिनँ’, उनले भने।  

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनका लागि आफूलाई ल्याइएको हो भन्ने हल्लालाई हमालले अस्वीकार गरे। ‘अनावश्यक र आशंकाहरुको पछाडि लाग्ने होइन काम गरेर देखाउने हो। त्यसैले बजारमा हुने हल्लामा मेरो केही भन्नु छैन’, उनले भने, ‘सरकारले मेरो एक्सपर्टिजका साथै क्षमतालाई बुझे पछिमात्र मेरो बोर्डमा नियुक्ति भएको हो।’