काठमाण्डौ । यति एयरलाइन्सले नयाँ एटीआर–७२ बिमान भित्र्याएको छ । 

आफ्नो वायुयान थप गर्ने क्रममा १८ सेप्टेम्बर २०१८ का दिन अपरान्ह २ः५० बजेको समयमा एयरलाइन्सको तेश्रो एटीआर–७२–५०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

जसको नेपाली रजिष्ट्रेसन नं. नाइन एन एएल एन र उत्पादन क्रम संख्या एमएसएन ७७६ रहेको छ । सो विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाण्डौं अवतरण गरेको कम्पनीले जनाएको छ । 

सो विमानमा चालक दलका सदस्यहरु क्याप्टेन प्रमोद पौडेल, क्याप्टेन रमोद श्रेष्ठ, क्याप्टेन सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेशकुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए ।

यो बिमान फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटीआर–७२–५०० संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरु मध्येमा पर्दछ ।

यो विमानको विश्वप्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एस.ए.एस, एच ओ पी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदि हुन् । 

यो  विमान के एफ् टर्बो लिजिङ्ग लिमिटेडबाट खरिद गरीएको हो र यो नेपालमा एटीआर ७२ बिमान खण्डमा सबैभन्दा नयाँ विमान हुने कम्पनीले जनाएको छ । यो विमान थपिंदा यति एयरलाइन्सले एटीआर बहत्तरको सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्नेछ । साथै यसले नेपालमा मनाउन लागिएको पर्यटन वर्ष २०२० मा नेपालको २० लाख पर्यटन भित्राउने लक्ष्यलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

हाल यति एयरलाइन्ससंग ३ वटा एटीआर–७२–५०० र ६ बीएई जेटस्टीम ४१ रहेका छन् । त्यसैगरी यसको सहायक कम्पनी तारा एयरसंग २ वटा डोर्नियर डीओ–२२८  र २ वटा ट्वीनअटर डिएचसी–३०० सिरिज छन् ।