काठमाण्डौ । आफ्ना कम्पनीका प्रबन्ध निर्देशकको शोक मनाउन यति एयरलाइन्स र उसको सहायक कम्पनी तारा एयरलाइन्सले मार्च १(फागुन १७)का उडान बन्दको घोषणा गरेका छन् । 

निजी हवाईसेवा प्रदायक यति एयरलाइन्स र तारा एयरले संयुक्त रुपमा एक सूचना जारी गर्दै आफ्ना प्रबन्धक निर्देशक आङछिरिङ शेर्पाको शोकमा फागुन १७ गते कुनै पनि उडान संचालन नगर्ने प्रष्ट्याएका हुन् ।

एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको एयर डाइनेष्टी एयरको हेलिकोप्टर दुर्घटनामा दुखद निधन भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरिएको हो।

एयरलाइन्सले सेवा बन्द हुँदा यात्रुमा पर्न जाने असुविधाप्रति माफी समेत मागेको छ ।
बुधबार ताप्लेजुङको दारेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक शेर्पाको समेत निधन भएको थियो । 

सो दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ७ जनाको ज्यान गएको थियो । 

दुर्घटनामा पर्यटनमन्त्री अधिकारी र यतिका प्रबन्ध निर्देशक शेर्पा बाहेक नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक तथा इञ्जिनियर ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको ज्यान गएको थियो । 

सरकारले मन्त्री अधिकारीसहित दिवंगतको शोक मनाउन भन्दै बिहीबार सार्वजनिक विदा दिएको थियो ।