काठमाण्डौ । यती एयरलाइन्सले साउन ३२ गते सगौरव आफ्नो सर्वाधिक नयाँ योंगेस्ट एटीआर ७२–५०० एयरक्राफ्टको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । 

काठमाडौं आन्तरिक विमानस्थलबाट करिब दिउँसो १२ः१५ बजे ४१ सदस्यसहित छुटेको विमानले भैरहवा विमानस्थलमा करिब ३ः५० मा सफलतापूर्वक अवतरण गरेको थियो । विमानको सञ्चालन क्याप्टेन ग्याब्रियल सी कुण्डा र क्याप्टेन रुपकुमार सिद्धिले गरेका थिए । क्याप्टेन डी आर निरौलाद्वारा लिड गरिएको उक्त फ्लाइटमा सीएएएनका प्रतिनिधि तथा प्यानल सदस्यहरुले समेत यात्रा गरेका थिए । 

सफल परीक्षण उडानको रिपोर्ट सीएएएनलाई हस्तान्तरण गरिसकिएको कम्पनीले जानकारी दिएको छ । सीएएएनबाट क्लियरेन्स प्राप्त भएसंगै तालिकासंगत उडानले निरन्तरता पाउने यतिले जानकारी दिएको छ । 

यति एयरलाइन्सले एटीआर ७२–५०० विमानको सञ्चालन पहिलो चरणमा नेपालगञ्ज र बिराटनगरमार्फत गर्नेछ । एनएसीबाटै वित्त सहयोग प्राप्त आरटीआर ७२–५००कै दोस्रो विमान प्राप्तभएसंगै यती एयरलाइन्सले भद्रपुर र भैरहवामा समेत आफ्नो सेवा सुचारु गर्ने योजना बनाएको छ । यती एयरलाइन्सले आफ्नो दोस्रो विमानको स्वामित्व यही सेप्टेम्बर महिनामै प्राप्त हुने जानकारी दिएको छ । ६५ सदस्यसहित उडान भरेको परीक्षण उडानको सफलतापूर्वक सम्पन्नता संगै निकट समयमा नै भैरहवामा दैनिक उडान सेवा उपलब्ध गराउने कम्पनीले बतायो । 

यात्रुलाई उत्कृष्ट सेवा र आरामदायी यात्राको अनुभव प्रदान गर्नु नै आफ्नो मूल उद्देश्य हो कम्पनीले जानकारी दिएको छ ।  नेपालकै सर्वाधिक नयाँ एटीआर ७२–५००मार्फत यती एयरलाइन्ससंगको यात्रामा यात्रुलाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने कम्पनीले बतायो । सन् १९९८मा स्थापित यती एयरलाइन्सले सेवा प्रदान गर्न थालेको १८ बर्षमा तिब्र बृद्धि तथा विकासको अनुभव गरेको छ ।