काठमाडौं । यती एयरलाइन्सको विमान शुक्रबार बिहान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज बिहान करिब ११ बजेर ५ मिनेटमा अवतरण गर्नेक्रममा धावनमार्गमा चिप्लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुका अनुसार विमान चिप्लेचर २० मिटर पर पुगेको छ । विमान धावन मार्गमा चिप्लिए पनि सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ। 

चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेकोले विमानस्थल बन्द गरिएको छ ।  विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ।

त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन्।

चाइन एयर र सिचुवान एयर ल्हासा डाइभर्ट भएका छन्। नेपाल एयरलाइन्सको दुबइबाट आएको जहाज दिल्लीडाइभर्ट गर्ने तयारी गरेको छ।