– अर्जुन तिमिल्सिना

काठमाण्डौ । निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाको व्यापार प्रभावित हुँदा बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम (तरलता) दबाब सिर्जना भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार हाल प्रणालीमा ३४ अर्ब रुपैयाँ तरलता रहेको छ। यसको अर्थ प्रणालीमा दबाब सिर्जना भएको छ। प्रणालीमा ५० अर्ब रुपैयाँ माथि रहेको अवस्था स्थिति सहज रहेको मान्न सकिन्छ। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरुलाई सीमित संख्यामा शाखाहरु खोल्न दिइएको छ। जसका कारण बैंक तथा वित्तीय संस्थाहरुको जेठको दोस्रो साता निक्षेप घटेको छ भने कर्जा लगानी बनेको छ। 

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल जेठको दोस्रो साता बैंकिङ प्रणालीमा तरलता घटेको बताउँछन्। ‘जेठ ९ गतेसम्म प्रणाली ६२ अर्ब रुपैयाँ रहेकोमा अहिले ३४ अर्ब रुपैयाँमा झरेको छ’, उनले भने, ‘निषेधाज्ञाका कारण सबैतिर ठप्प रहेका कारण प्रणालीमा लगानीयोग्य रकम घटेको हो।’

पोखरलले अहिलेको अवस्थामा बैंकिङ प्रणालीमा तरलता ३४ अर्ब रुपैयाँ रहनुले खासै दबाब नपर्ने बताउँछन्। ‘यतिबेला लगानीका क्षेत्रहरु ठप्प छन्, मानिसहरु घरबार निस्किन सकेका छैनन्’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुले पनि जसोतसो सेवा प्रवाह गरिरहेका छन्।’

अवस्था सहज बनेसँगै तरलता सहज बन्दै जाने पनि पोखरेलको भनाइ छ। ‘अहिले आन्तरिक ऋण उठ्दै जानु तथा एकै हप्तामा १० अर्बले कर्जा प्रवाह बढ्नु पनि तरलतामा दबाब परेको हो कि भन्ने देखिन्छ’, उनले भने, ‘तर बैंक तथा वित्तीय संस्थाले पुराना ऋणलाई ऋण थपेको पनि हुन सक्छ।’

सहप्रवक्ता पोखरेलका अनुसार हालसम्म पुनरकर्जाको १४५ अर्ब स्वीकृत भएको छ। ‘त्यसमध्ये बैंक तथा वित्तीय संस्थाहरु १२३ अर्ब रुपैयाँ लगिसकेका छन्, बाँकी २२ अर्ब रुपैयाँ लैजाने तयारी गरिरहेका छन्’, उनले भने, ‘यो रकम बैंकिङ प्रणालीमा गएपछि तरलता सहज बन्दै जानेछ।’

अहिले अन्तरबैंकिङ ब्याजदर भने २.५१ रहेको छ। सीसीडी  रेसियो ७९.९१ प्रतिशत रहेको छ। ‘यो रेसियो बैंकहरुलाई ८५ प्रतिशतसम्म छुट हुने हुनाले अहिले कुनै तरलतामा खासै दबाब देखिएको छैन’, सहप्रवक्ता पोखरेलले भने। 

त्यसैगरी हालसम्म बैंक तथा वित्तीय संस्थाहरु निक्षेप ४४ खर्ब ७४ अर्ब तथा कर्जा परिचालन ४४ खर्ब ६७ अर्ब रुपैयाँ गरेका छन्। सहप्रवक्ता पोखरेलले अहिले नै तत्काल बैंकको ब्याजदर हेरफेर हुने सम्भावना नरहेको बताए।