– अर्जुन तिमिल्सिना

काठमाण्डौ । अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्याउन प्रविधिमा गरिएको अपग्रेडका कारण ‘मेरो सेयर’ मा समस्या देखिन थालेको छ। जसका कारण नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका कम्पनीहरुको आईपीओ निष्कासनमा ढिलाइ हुने भएको छ। 

सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले चालु आर्थिक वर्षको बजेटमै गरिएको व्यवस्थाबमोजिम पुँजीगत लाभकरको नयाँ नीतिका कारण अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्याउन प्रणालीमा अपग्रेड गर्नुपर्दा मेरो सेयरमा लोड परेर केही दिन समस्या देखिन सक्ने बताए। ‘त्यसैले तत्काल एक सातादेखि डेढ सातासम्म कुनै पनि कम्पनीलाई आईपीओ निष्कासन नगर्न भनेका छौँ’, उनले भने। 

नेपाल धितोपत्र बोर्डले मैलुङ खोला जलविद्युत, तेह्रथुम पावर कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिंग पावर कम्पनी लिमिटेडलाई आईपीओको अनुमति दिएको छ। तर हाल मेरो सेयरमा देखिएको समस्याका कारण यी कम्पनीको आईपीओ कम्तीमा पनि डेढ साताअघि निष्कासन नहुने पक्का भएको छ। 

सीईओ आचार्यले मेरो सेयर प्रणालीमा अल्पकालीन तथा दीर्घकालीन लगानीकर्ता छुट्टाउन निकै चुनौतीपूर्ण रहेको बताए। ‘अहिले लगानीकर्ताका लागिमात्रै नभएर सीडीएससीलाई पनि प्राविधिक रुपमा त्यति नै चुनौती देखिएको छ’, उनले भने, ‘लगानीकर्ताका सम्पूर्ण विवरण व्यवस्थापन गर्न कम्तीमा १० दिन लाग्न सक्छ, त्यसैले यो अवधिमासम्म मेरो सेयरमा कहिलेकाहीँ समस्या देखिन सक्छ। लगानीकर्ताले धैर्य गरेर हामीलाई साथ दिनुपर्यो।’ 

आचार्यका अनुसार अहिले मेरो सेयरमा गरिरिन लागेको व्यवस्थाले ब्रोकरहरुलाई पनि सहज हुनेछ। 

आफू आएपछि प्राविधिक रुपमा सीडीएससीले ठूलो फड्को मारेको दाबी पनि आचार्यले गरे। ‘पहिले आईपीओ भर्नकै लागि घन्टौँ लाइन लाग्नुपर्ने अवस्था थियो, अहिले सिरक ओढेर घरबाटै आईपीओ भर्न सकिने भएको छ’, उनले भने। 

हाल सीडीएससीले टी प्लस टु लागू गरेको, सेन्ट्रल केवाईसीको व्यवस्था गर्न लागेको, मेरो सेयरको मोबाइल एप ल्याएको तथा सिस्टम डेस्क बेसबाट वेब बेसमा लग्दै हार्डवेयरमा सिस्टम अपडेट गरेको आचार्यले सुनाए। उनले अहिलेको सीडीएससीको डाटामा कुनै समस्या आएमा अब ब्यकअपका रुपमा (पेनड्राइभजस्तै) डिजास्टर रिकभरी सेन्टर हेटौँडामा र पूरै सीडीएससीकै जस्तै अर्को व्यवस्था बिजनेस कन्टेन्जेन्सी प्लान ( बीसीपी) पनि व्यवस्था गर्न लागेको जानकारी दिए।

आचार्यले अब नेपालको सेयर बजार धेरै प्रविधिमैत्री र सुरक्षित हुने दाबी पनि गरे। 

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा पुँजीगत लाभकरबापत ९८ करोड रुपैयाँबाट बढेर १४ अर्ब रुपैयाँ सरकारलाई राजस्व उठेको पनि आचार्यले जानकारी दिए।