– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नियामक निकायबीच नीति निर्माणमा तालमेल नमिल्दा ब्रोकरहरुले ल्याउने भनेको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) ओझेलमा परेको छ। 

ब्रोकरहरुको टीएमएस चालु आर्थिक वर्षको साउनबाटै आउने भनिएको थियो। तर ब्रोकरहरुको टीएमएस सञ्चालनका विषयमा नीति बनाउने काम नै नियामक निकायहरु नेपाल धितोपत्र (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट हालसम्म हुन सकेको छैन। जसका कारण ब्रोकहरुको आफ्नै टीएमएस सञ्चालन गर्ने सपना सपनामै सीमित बनेको छ। 

हालसम्म पनि यस विषयमा दुवै निकायले ठोस पहल गर्दा चालु आर्थिक वर्षमा ब्रोकरहरुको आफ्नै टीएमएस सञ्चालन आउने सम्भावना कम देखिएको छ। 

नेप्सेले यसअघि ब्रोकरको टीएमएस सञ्चालनामा ल्याउनका लागि धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तेस्रो संशोधन गर्दै सेबोनमा स्वीकृतिका लागि पठाएको थियो। त्यसमा नेप्सेले प्रणाली विकासकर्ता तथा आपूर्तिकर्ताको योग्यता र सीएमएमआई लेभल ५ सर्टिफिकेसन चाहिने उल्लेख गरेको थियो। 

सेबोनले भने फेरि गत साउन २८ गते ब्रोकरको टीएमएस सञ्चालनमा ल्याउनका लागि नेप्सेले तोकेको प्रणाली विकासकर्ता तथा आप्रर्तिकर्ताको योग्यता र सीएमएमआई लेभल ५ सर्टिफिकेसनजस्ता मापदण्ड राख्नुको कारण स्पष्ट पार्न भन्दै नेप्सेलाई पत्र काटेको छ। यी मापदण्ड तोक्दा प्रणाली विकासकर्ता र आपूर्तिकर्ताबीचको प्रतिस्पर्धा र प्रणाली खरिद मूल्यमा पर्ने असरका सम्बन्धमा जबाफ पठाउन सेबोनले नेप्सेलाई आग्रह गरेको छ। 

आज भदौ ९ गते भइसक्दा पनि नेप्सेले जबाफ पठाएको छैन। हिजोमात्र नेप्सेको सीईओ पदबाट चन्द्रसिंह साउदले राजीनामा दिएका कारण यो प्रक्रिया झनै लम्बिने देखिएको छ।

यसरी सेबोन र नेप्से विनियमावली संशोधनमै अल्झिँदा ब्रोकरको टीएमएस सञ्चालन ल्याउने विषय ओझेलमा परेको हो। विनियमावली स्वीकृत नहुँदासम्म टीएमएस सञ्चालन त प्रणाली विकासको पनि अगाडि बढ्ने देखिँदैन। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले नियामकबाट संशोधित विनियमावली स्वीकृति नहुँदा ब्रोकरको आफ्नै टीएमएस सञ्चालनमा ल्याउने प्रक्रियामा ढिलाइ भइरहेको बताए। ‘नियामकबाट संशोधित विनियमावली स्वीकृति भएपछि मात्र टीएमएस विकासको प्रक्रिया अगाडि बढ्ने हो’, उनले भने, ‘टीएमएस बनेपछि परीक्षण गर्न पनि समय लाग्छ। त्यसैले टीएमएस सञ्चालनमा आउने अझै केही समय लाग्ने देखिएको छ।