काठमाण्डौ । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका ९०३ जनालाई विभिन्न विभूषण र पदक वितरण गर्ने सरकारी निर्णयको पक्ष र विपक्षमा सामाजिक सञ्जालका भित्ताहरु रंगिएका छन्। 

चर्चित कार्टुनिष्ट रविन सायमीले विभूषण, पदक र मानपद्वी वितरणमा राजनीतिक भागबण्डाको कुसंस्कार देखिएको भन्दै पदक अस्वीकार गर्ने घोषणा गरेका छन् । यसले पदक पाउने ९०३ जनाको नाममा कतिपयको असन्तुष्टि रहेको देखाउँछ । 

तर, विभिन्न मानपद्वीबाट विभूषित हुने कतिपय यस्ता व्यक्तित्व छन्, जसको सामाजिक सञ्जालभरि चर्चा र प्रशंसा भइरहेको छ । उनीहरुको योगदानको समेत उस्तै तारिफ भइरहेको छ । 

आर्थिक जगतसँग सम्बद्ध मानिसहरुले पहिलो पुस्ताका भेटेरान बैंकर उपेन्द्र पौड्यालले पदक पाउने भएकोमा खुशी प्रकट गर्दै फेसबुकका भित्ताहरुमा पोस्ट गरिरहेका छन् । उनले सुप्रवल जनसेवा श्री पदक पाउने सरकारी निर्णय बाहिरिएपछि त्यसको प्रशंसा समेत भइरहेको छ । सरकारले पौड्याललाई पदक दिनलाई गरेको निर्णय स्वागतयोग्य भएको र सो पदकका लागि पौड्याल उपयुक्त पात्र समेत भएका भन्दै उनका प्रशंसकहरुले स्टाटस लेखिरहेका छन् । 

के कारणले बैंकर उपेन्द्र पौड्याल यो पदकका लागि लायक व्यक्तित्व बने त ? 

उनी निकटस्थ तथा उनलाई लामो समयदेखि चिन्नेहरुले पौड्यालले नेपालको बैंकिङ उद्योगमा भ्यालूबेस्ड बैंकिङ र दिगो बैंकिङलाई प्रवद्र्धन गरेको जश दिन्छन् । 

त्यस्तै, बैंकिङमै रहेर निर्यात प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेका पौड्यालले फाइनान्स कम्पनीको रुपमा स्थापित भई कारोबार सुरु गरेको बैंकलाई स्थापित वाणिज्य बैंक बनाई वैदेशिक साझेदारसँग समेत आबद्ध गराउने महत्वपूर्ण योगदान गरेका छन् । 

वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन सफल अध्यक्षको रुपमा काम गरेका उनले समग्र बैंकिङ क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

महाभूकम्पका कारण क्षतिग्रस्त कतिपय क्षेत्रहरुको पुननिर्माण कार्यमा समेत उनले बैंकिङबाट महत्वपूर्ण योगदान गरेका छन् । 

समग्र बैंकिङ उद्योगलाई सेवाको रुपमा रुपान्तरण गर्ने तथा बैंकिङ क्षेत्रको संस्कृतिलाई चुस्तदुरुस्त राख्न तथा यो क्षेत्रलाई आकर्षणको केन्द्र बनाउनका लागि अनवरत योगदान गर्ने निकै थोरै व्यक्तित्वमध्ये उनी पर्ने बैंकरहरु बताउँछन् । 

हाल पौड्याल नवील बैंकको संचालक समिति अध्यक्ष छन् । उनी संचालक समितिको नेतृत्वमा पुगेपछि नवील बैंकलाई मुलुककै धेरै कर तिर्ने बैंकको रुपमा निरन्तरता दिने काम गरेका छन् । ‘नवीललाई रहरलाग्दो र भरलाग्दो बैंक बनाउने महत्वपूर्ण भूमिका पनि उहाँको छ ।’ उनी निकट एक बैंकरले बिजशालासँग भने ।

सरकारले निकै महत्वपूर्ण मानपद्वीबाट विभूषण गर्ने निर्णयपछि प्रतिक्रिया दिंदै उपेन्द्र पौड्यालले आफूले यसअघि धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड पाएको भए पनि सरकारी स्तरबाटै अवार्ड पाउने सूचीमा पर्न सफल भएकोमा खुशी व्यक्त गरे । ‘सरकारी स्तरबाट यति ठूलो सम्मान मेरा लागि निकै ठूलो र विशेष कुरा हो ।’ उनले बिजशालासँग भने–‘म लगायत नेपाली बैंकिङको पहिलो पुस्ताले जे कल्चरको थालनी गर्यौं, त्यसका लागि यो अवार्ड प्राप्त गरेको  जस्तो लाग्छ । त्यसकारण नेपालको बैंकिङलाई प्रतिष्ठित र रहरलाग्दो क्षेत्र बनाउन योगदान गर्ने पहिलो पुस्ताका बैंकर सबै र हालसम्म पनि यसलाई अनुशासित क्षेत्र बनाइराख्ने सबै बैंकरप्रति यो अवार्ड डेडिकेटेड गर्न चाहन्छु ।’ 

उनले ८० को दशक र अहिलेको नेपाली बैंकिङमा धेरै ठूलो भिन्नता आइसकेको उल्लेख गर्दै नेपालका बैंकहरु अब अन्तर्राष्ट्रिय बजारमा अन्तराष्ट्रिय संस्थासँग काँधमा काँध हालेर हिँड्नसक्ने हैसियतमा पुगेका दाबी गरे । 

‘म प्रूडेन्ट बैंकिङ प्राक्टिसको हिमायती हुँ ।’ उनले थपे–‘मूल्यमा आधारित बैंकिङमा मेरो पहिलादेखि नै जोड रहँदै आएको छ । पछिल्लो समय हामीले सुरु गरेको दिगो बैंकिङ अभियानमा यो अवार्डले उर्जा थप्ने काम गरिदिएको छ ।’