काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज १४.७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५५६.९५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ अंकले घटेर ४८३.३९ को विन्दुमा ओर्लेको छ। 

स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की बजार घट्नुको मुख्य कारण नै लगानीकर्ताहरु अन्यौलमा रहनु रहेको बताउँछन्। ‘कारोबार पनि घटेको छ, यसले लगानीकर्ताहरु घटेर सेयर बेच्न नचाहेको देखिन्छ’, उनले भने। 

आजको बजार मुभलाई हेर्ने हो भने बजारको घटाइ थामिन थालेको प्रस्ट हुने कार्की बताउँछन्। ‘अब केही दिन बजार साइडवेजमा जाने देखिन्छ’, उनले भने।

राष्ट्र बैंकको छिटोछिटो नीति परिवर्तन हुनुले पनि बजार प्रभावित भएको र यसैका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्था रहेको कार्कीको भनाइ छ। ‘ब्याजदर नियन्त्रण भएकोले अब बजार धेरै तल नजाने देखिन्छ’, उनले भने, ‘अब बजारको यात्रा सुखद् नै हुने देखिन्छ।’

त्यसैले लगानीकर्ताहरु अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको कार्की बताउँछन्।

सक्रिय लगानीकर्ता निमानन्द कँडेल लगानीकर्ताहरुको मनोबल कमजोर बनेका कारण बजार बढ्न नसकेको बताउँछन्। कारोबार घट्नुको मुख्य कारण सेयर धितो कर्जामा कडाइ हुनु नै रहेको कँडेलको बुझाइ छ। ‘सेयर धितो कर्जामा केही सहज भएमा १०–१२ अर्बको कारोबार फेरि हुने सम्भावना छ’, उनले भने।

लाभांशको सिजन र पहिलो त्रैमासको रिपोर्टले फेरि पनि बजार चमक आउने कँडेलको भनाइ छ। ‘योसँगै संस्थागत लगानीकर्ताहरु पनि पुनः बजार प्रवेश गर्ने देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक १.३ प्रतिशतले उकालो लागेको छ भने म्युचुअल फन्ड समूहमा ०.४३ प्रतिशतको बढोत्तरी भएको छ।

आज व्यापार समूह सर्वाधिक २.१९ प्रतिशतले प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.०९ प्रतिशत घटेको यो दिन बैंकिङ समूहमा ०.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९५ प्रतिशत, विकास बैंक समूहमा २.०३ प्रतिशत, जलविद्युत समूहमा १.७५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७२ प्रतिशत, लघुवित्त समूहमा ०.२९ प्रतिशत, जीवन बीमा समूहमा ०.७३ प्रतिशत र लगानी समूहमा ०.४४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१६ कम्पनीका ६१ लाख ६ हजार ४५२ कित्ता सेयर २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन सानिमा बैंकको सर्वाधिक २७ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माछापुच्छरे बैंकको ११ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ९ करोड ६४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ८ करोड १ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ७ करोड ५४ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ६ करोड ४६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ३२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड २१ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको ६ करोड १८ लाख रुपैयाँ र अपी पावरको ५ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज मेरो माइक्रोफाइनान्सका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन जोशी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।