काठमाण्डौ । सुरक्षित लगानीका रुपमा लिइने सुनमा पछिल्लो समय चमक कम हुँदै गइरहेको छ। 

कोभिड महामारीबीच गत वर्ष साउन २३ गते नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो। जुन नेपालकै इतिहासमा हालसम्म उच्च मूल्य हो। 

त्यसपछि सुनको भाउ ओरालो लाग्न थालेको थियो। आजसम्म आइपुग्दा सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँमा झरेको छ। पछिल्लो डेढ वर्षमा सुनको भाउमा खासै चमक देखिएन। लगानीकर्ताको ध्यान सेयर बजारमा केन्द्रित भएसँगै सुनमा कम आकर्षण देखिएको हो। त्यहीका कारण सुनको भाउ घट्न पुग्यो। 

गत डिसेम्बर २९ सम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस १७९१ रुपैयाँ रहेको थियो। नेपाली बजारमा तोलाको ९२ हजार १०० रुपैयाँ रहेको थियो। 

विज्ञहरुले भने सुनको भाउमा पुनः तीव्रता आउन सक्ने अनुमान गरेका छन्। मुद्रास्फीतिसँग जोडिएका चिन्ता र कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट उत्पन्न अनिश्चितताले पुनः यो पहेँलो धातुको मूल्यवृद्धि हुन सक्ने उनीहरुको अनुमान छ। 

सनु २०२२ को पछिल्लो ६ महिनामा सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस १७०० देखि १९०० डलरसम्म पुग्ने र दोस्रो ६ महिनामा २००० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यो हिसाबले नेपाली बजारमा पनि सुन भाउ अबको १ वर्षभित्र तोलाको १ लाख रुपैयाँसम्म पुग्न सक्ने बजार जानकारहरु बताउँछन्। 

अमेरिकाको मुद्रास्फीति आँकडाले सुनको भाउ बढ्न सक्छ। दीर्घावधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस १९७० डलरसम्म पुग्ने अनुमान गरिएको छ। यदि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँ १९७० पुगेमो नेपाली बजारमा यसको प्रत्यक्ष असर पर्नेछ भने सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ माथि नै पुग्ने देखिन्छ। – एजेन्सीको सहयोगमा