काठमाण्डौ । विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ।

अस्ट्रेलियन ओपनमा भाग लिन पुगेका सर्बियाका खेलाडी जोकोभिचलाई घन्टौँसम्म मेलबर्न विमानस्थलमा रोकेर पछि उनको भिसा रद्द गरिएको जानकारी गराइएको थियो। उनले अस्ट्रेलिया प्रवेशका लागि कोभिड मापदण्ड पूरा नगरेको जानकारी गराइएको थियो। 

जोकोभिच मेलबर्न पुग्दा विमानस्थलका अधिकारीहरुले उनको टोलीले भ्याक्सिन नलगाए पनि अस्ट्रेलियन ओपनमा सहभागी हुन पाउने चिकित्सकीय छुटसहितको भिसाका लागि अनुरोध नगरेको पाइएको बीबीसीमा उल्लेख छ। सोही कारण विमानस्थलमा खटिएको सीमा बलले जोकोभिचले अस्ट्रेलिया प्रवेशसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेको पर्याप्त प्रमाण पेस गर्न नसक्दा उनको भिसा रद्द गरिदिएका हुन्। 

हाल जोकोभिचको टोलीलाई डिटेन्सन होटेलमा लगिएको छ। त्यहाँबाट उनलाई अर्को फ्लाइटबाट फर्काइनेछ। 

जोकोभिचलाई भ्याक्सिन नलगाए पनि अस्ट्रेलियन ओपनमा भाग लिन पाउने छुट दिइएको थियो। तर अस्ट्रेलियामा यो निर्णयको व्यापक विरोध भएको थियो। 

अस्ट्रेलियन प्रधानमन्त्री स्टक मोरिसनले यदि कुनै खेलाडीसँग अस्ट्रेलिया प्रवेशका लागि पर्याप्त प्रमाण छैन भने उनीहरुलाई फिर्ता पठाइने बताएका छन्।

जोकोभिचले आफूले भ्याक्सिन लगाए वा नलगाएको भन्ने विषयमा जानकारी गराएका छैनन्। अब जोकोभिचले कानुनी अपिल गर्न सक्ने र नयाँ भिसाका लािग आवेदन दिएर अस्ट्रेलिया प्रवेश गर्न सक्ने विकल्प रहेको बताइएको छ। – एजेन्सी