काठमाण्डौ । अप्पर तामाकोशी जलविद्युत लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने कम्पनीले ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गरेको छ। पहिलो त्रैमासका कम्पनीले विद्युत बिक्रीबाट १ अबए ७१ करोड रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीले समीक्षा अवधिको विद्युत बिक्रीबापतको ३ अर्ब ६४ करोड रुपैयाँको बिल नेपाल विद्युत प्राधिकरणमा पेस गरिएकोमा कम्पनी र प्राधिकरणबीच विद्युत बिक्री आय गणनामा भएको ८३ करोड ९८ लाख रुपैयाँ बढीको भिन्नता, आयोजनाले प्राधिकरणलाई आपूर्ति गर्नुपर्ने इनर्जी डिस्प्याच नभएको एवं विद्युत खरिदबिक्री सम्झौताअनुसार उत्पादन सुरु नभएको भनी विद्युत बिक्री आयबाट ७१ करोड ९५ लाख रुपैयाँ घटाइएकोले गत मंसिरसम्मको आयबापत १ अर्ब ४२ करोड रुपैयाँमात्र प्राप्त भएको कम्पनीले जनाएको छ। त्यसैले घटाइएको रकम फिर्ता भएपश्चात घाटा कम हुन गई नगद प्रवाहमा सुधार हुन अपेक्षा कम्पनीले राखेको छ।

चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ १ अर्ब ३९ करोड रुपैयाँले ऋणात्मक रहेको छ। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.१२ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर सेयर नेटवर्थ ८६.८६ रुपैयाँ रहेको कम्पनीको तरलता अनुपात ०.७६ प्रतिशत रहेको छ।