काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर वृद्धि गरेसँगै अमेरिकी र एसियाली सेयर बजारमा गिरावट आएको छ।

महँगी नियन्त्रण गर्न फेडरल रिजर्भले चालेका कदमहरुले आर्थिक वृद्धिलाई प्रभाव पार्न सक्ने भयका कारण बिक्रीचाप पर्दा एसियाली र अमेरिकी सेयर बजारमा गिरावट आएको हो। शुक्रबार हङकङ र चीनको सेयर बजारमा गिरावट आएको छ। हङकङको सेयर बजार हाङ सेङ ३.६ प्रतिशत र चीनको सांघाई स्टक एक्सचेन्ज २.३ प्रतिशतले घटेको छ। त्यस्तै अस्ट्रेलियाको एएसएक्स २०० २.४ प्रतिशतले ओरालो लागेको छ। 

एप्पल र नाइकीजस्ता ठूला कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा बिहीबार अमेरिकी डोउ इन्डेक्स ३.१ प्रतिशतले घटेको छ।

यसैगरी एस एन्ड पी ५०० ३.६ प्रतिशत र नास्डक इन्डेक्स लगभग ५ प्रतिशतले घटेको छ। फेडरल रिजर्भले ब्याजदर ०.७५ प्रतिशतदेखि १ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेसँगै अमेरिकालगायतका एसियाली सेयर बजारमा गिरावट आइरहेको छ। –एजेन्सी