– अर्जुन तिमिल्सिना
काठमाण्डौ । दसैँ भन्नेबित्तिकै सबैलाई लाग्छ–रमाइलो गर्ने, घुमघाम गर्ने र आफन्त तथा साथीसँग भेटघाट गरी मनाउने पर्व । यी सबै गतिविधि गर्नका लागि आर्थिक व्यवस्थापन मुख्य चुनौती रहेको हुन्छ।
गत वर्ष भदौदेखि घट्न थालेको सेयर बजारमा यसपालि दसैँसम्म पनि खासै रौनक आउन सकेन। बजार घटेपछि सेयर लगानीकर्ताहरुका लागि भने यसपालिको दसैं खासै उल्लासमय हुने देखिँदैन।
ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरु पनि यही विषयमा हाँसो–मजाक गरेको सुनियो। केही दिनअघि श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) मा भेटिएका लगानीकर्ताहरु पनि अहिलेको दसैँ पैसाकै कारण खासै रमाइलो नहुने तर्क गर्दै थिए। त्यहीँ भेटिएका एक लगानीकर्ताले ठट्यौली पारामा भने, ‘यसपालि घुम्न त जाने हो तर खर्च भने साथीलाई तिर्न लगाउनुपर्ला, सेयर बजारले कमाउने मौका अहिले देलाजस्तो छैन।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले प्रश्न गरे, ‘साथीले पनि त्यही कुरा भने के गर्ने ?’
एक वर्षदेखि घटेको बजार र बढेको महँगीले अहिले लगानीकर्ताको ढाड सेकेको छ। यसपालि धेरै कम्पनीले दसैँअगाडि लाभांश घोषणा गरेन। केही घोषणा गरे पनि खासै आकर्षक छैनन्।
बजार जानकार गोविन्दप्रसाद घिमिरे ३–४ कारणले अहिलेको दसैँ लगानीकर्तालाई निराशाजनक रहेको बताउँछन्। ‘अहिले बजार घटेको घट्यै गरेका पुँजीगत लाभ हुने आशै भएन’, उनले भने, ‘त्यतिमात्रै नभएर धेरै कम्पनीहरुले यसपालि दसैँअगाडि लाभांश घोषणा गरेनन्। केही कम्पनीले घोषणा गरे पनि खासै आकर्षक छैनन्।’
अहिले ठूलो भोलुममा सेयर हुनेहरु दसैँ मनाउन ऋण लिनुपर्ने बाध्यता रहेको घिमिरे बताउँछन्। ‘त्यतिमात्रै नभएर धेरै लगानीकर्ता कम्पनीहरु मर्जमा गएका कारण आफूसँग भएका सेयर बेच्न नै नपाउने अवस्था पनि सिर्जना भयो’, उनले भने, ‘दसैँलगत्तै आसोज मसान्तको प्रभाव छ। बैंकको ब्याज तिर्नुपर्छ। यसकारण पनि लगानीकर्तालाई यसपालिको दसैँ खासै उल्लासमय हुने देखिँदै।’
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने पनि यसपालिको दसैँ निराश नै भएको बताउँछन्। ‘अर्थमन्त्रीले ब्याज घटाउने भन्ने विषय त्यति भरपर्दो छैन’, उनले भने, ‘बजारले नै ब्याजदर निर्धारण गर्ने भएकोले तत्काल सकारात्मक माहोल नहुने देखिन्छ।’
बजार जानकार सरोज भट्टराईले पनि आफूनिकट साथीहरुले यसपालिको दसैँ खल्लो हुने भयो भनेर गुनासो गरेको सुनाए। ‘यसपालि त आशैआशमा दसैँमा खसी किन्ने पैसा गुमाएको साथीहरुले सुनाएका छन्’, उनले भने, ‘अहिले बजारले लगानीकर्तालाई खासै उपहार दिएन। पीडा नै छाडेर गयो। तर, दसैँपछि भने केही आश गर्न सकिन्छ।’
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago