काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको “ख” वर्गको इजाजतपत्रप्राप्त भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमीटेडमा राष्ट्रियस्तरको “ग” वर्गको इजाजतप्राप्त लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमीटेड गाभिई आइतबारदेखि लुम्बिनी विकास बैंक लिमीटेडको नामबाट बिधिवत् एकीकृत कारोवार सुरु भएको छ । 

दरवारमार्गस्थित होटल डेल अन्नपूर्णमा भएको एक बिशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले लुम्बिनी विकास बैंक लिमीटेडको बिधिवत उद्घाटन गरे । 

विभिन्न समयमा पाँचवटा संस्थाहरु आपसमा गाभिएर बनेको लुम्बिनी विकास बैंक लिमीटेडको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमीटेडको केन्द्रीय कार्यालय रहेको स्थान डिल्लीबजारमै रहने बताइएको छ । 

यो विकास बैंकको संचालक समिति हाल ६ सदस्यको रहेको छ भने समितिको अध्यक्षमा सुशीलराज पराजुली रहेका छन् । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले पाएका छन् । 

मर्जरपछि बनेको लुम्बिनी विकास बैंक लिमीटेडको हालको चुक्ता पुँजी रु.२ अरब ८८ लाख पुगेको छ भने रु.३६ करोड ३० लाख पूँजी समायोजन जगेडा कोषमा छ । मर्जर सम्पन्न भए लगत्तै चुक्ता पूँजीको १०% का दरले हकप्रद शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको चुक्ता पूँजी पुर्याउने यो बैंकको नीति छ । यसैगरी गाभिएपछि संस्थाको कुल निक्षेप रु.१७ अरब, कर्जा रु.१५ अरब ५८ करोड पुगेको छ भने देशभर ४९ वटा शाखा सञ्जाल तथा १२ वटा आफ्नै एटिएमबाट २१ जिल्लामा बैंकिङ्ग सेवा उपलव्ध हुनेछ । 

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै बैंक संचालक समितिका अध्यक्ष पराजुली र प्रमुख कार्यकारी अधिकृत खनालले सुदृढ रुपमा बित्तीय बजारमा आएको लुम्बिनी विकास बैंकले ग्राहकहरुको सुबिधाको लागि आफ्नो शाखा सञ्जाल प्रयोग गरी थप सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।  देशभर छरिएर रहेको पूँजीलाई उत्पादनशील क्षेत्रमा लगाई समग्र देशको आर्थिक प्रगतिका लागि योगदान पुर्याउदैं वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा थप शाखाहरु बिस्तार गर्ने नीति विकास बैंकको रहेको उनीहरुले बताएका थिए । ग्राहकहरुको सन्तुष्टिनै बैंकको लक्ष्य रहेकोले यसैलाई आत्मसाथ गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा र लगानीकर्तालाई उचित प्रतिफल दिने लक्ष्य सहित आगामी दिनमा बैंक अगाडी बढ्ने सीइओ खनालले जनाए ।