नयाँदिल्ली । मोदी सरकारले भारु ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै भारतमा कालोधन सञ्चित गर्नेहरु तनावमा छन् । तर, उनीहरुले त्यहाँको सरकारलाई झुक्याएर विभिन्न जुक्ति प्रयोग गरी कालोधनलाई सेतो बनाउने काम पनि गरिरहेका मिडिया रिपोर्टहरु सार्वजनिक हुन थालेका छन् । धेरैले भारतमा विभिन्न विकल्प प्रयोग गरी कालोधनलाई सेतो बनाई बचाउने कोशिश गरिरहेका छन् । हेरौं कुन–कुन जुक्ति प्रयोग गरिरहेका होलान् त्यहाँका कालोधनवालाहरुले ब्ल्याक मनीलाई ह्वाइट बनाउन ।

पेट्रोल पम्पमा भइरहेको छ प्रयोग
भारतका अधिकांश पेट्रोल पम्पहरुमा कारोबारीले कालोधनलाई सेतो बनाउने काम गरिरहेका छन् । सूत्रका अनुसार पेट्रोल पम्प संचालकहरुले नै लाखौं कमिसन लिएर ५ सय र १ हजारको नोट लिइरहेका छन् । उनीहरुले केही दिनपछि वा केही महिनाको अन्तरालमा अहिले लिएको रकम बराबरको २ हजार रुपैयाँको नोट दिने वचन दिइरहेका बताइएको छ । पेट्रोल पम्पले यो कामका लागि ५ प्रतिशतसम्म कमिसन लिइरहेका बताइएको  छ । 

तस्करीको बजार
तस्करीको बजारस्थित सूत्रलाई हवाला दिंदै  मिडियाहरुले बताए अनुसार करोडौं रुपैयाँ चार्ज लिएर तस्करहरुले कालोधनलाई सेतो बनाइरहेका छन् । यस्ता बजारका कारोबारीहरुले २५ प्रतिशत कमिसन काटेर कालोधनलाई सेतो बनाइरहेका छन् । ५ सय र १ हजार रुपैयाँको नोट परिवर्तन गरी त्यस्ता व्यक्तिको अकाउण्टमा पनि ट्रान्सफर गर्ने काम भइरहेको छ । सूत्रका अनुसार कालोधनलाई सेतो बनाउने यस्तो काममा चार्टर एकाउण्टेन्टहरु पनि सामेल छन् । 

सुनचाँदी पसलमा पनि उस्तै धन्दा
सूत्रहरुलाई हवाला दिंदै मिडिया रिपोर्टहरुमा बताइए अनुसार दिल्ली र मुम्बई तथा अन्य प्रमुख शहरका सुनचाँदी व्यवसायीहरुले पनि कालोधनलाई सेतो बनाउने काम गरिरहेका छन् । ज्वेलरी खरीदमा पक्का बिल बनाएर भ्याट लिने गरेका र ब्याक डेटको बिल बनाएर कालोधनलाई सेतो बनाउने काम भइरहेको बुझिएको छ । ज्वलेरीहरुले यसै प्रयोजनका लागि ५ सय र १ हजारको भारु नोट लिइरहेका छन् । 

सहकारीको छुट्टै धन्दा
प्रेस ट्रस्ट अफ इण्डियाको एक समाचार अनुसार ग्रामीण क्षेत्रमा रहेका सहकारीहरुले ब्याक डेटको मिति राखेर फिक्स्ड डिपोजिटमा ५ सय र १ हजारको नोट लिइरहेका छन् । यही विधिबाट कालोधनलाई सहकारीहरुले सेतो बनाइरहेका बुझिएको छ । मोदी सरकारले नोटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको मितिभन्दा अघिको मिति राखेर यस्तो काम गर्दा सरकारले समेत प्रश्न उठाउन सक्दैन । 

भारतमा कति होला कालोधन ?
भारतका बित्त मन्त्रीलाई हवाला दिंदै मिडियाहरुले बताए अनुसार त्यहाँको कुल जीडीपीको १८ प्रतिशत कालोधन रहेको छ । यो हिसाबले करिब ३६७८४ करोड भारु कालोधनको रुपमा रहेको छ । यस अलावा सन् २०१० मा स्वीस बैंकमा ९२९५ करोड भारु कालोधन जम्मा भएको छ । भारतमा सबैभन्दा धेरै कालोधनको प्रयोग माइनिङ उद्योग, फरेस्ट तथा रक्सीको कारोबारमा हुने गर्छ । यस अलावा अकाउण्टमा गलत आँकडा देखाएर कर छली हुने गर्छ ।