काठमाण्डौ । संसद विघटन भएकै दिन संवैधानिक परिषदले रिक्त रहेका विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याई आयोगका रिक्त पदहरुमा नियुक्तिको सिफारिस गरेका हुन् । 

आयोगमा सुविधाजनक बहुमत हुने गरी अध्यादेश ल्याएपछि उनले मंसिर ३० गते नै बैठक डाकेका थिए । सोही बैठकको निर्णय आइतबार सार्वजनिक गरिएको हो । 

संसद विघटन भइसकेकाले परिषदले गरेका निर्णयमा अब संसदीय सुनुवाई चाहिन्न । 

परिषदले अख्तियार दुरुपयोग अनुसनधन आयोगको प्रमुख आयुक्तमा आफ्ना विश्वासपात्र प्रेमकुमार राईलाई सिफारिस गरेको छ । 
यस्तै, आयुक्तहरुमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल सिफारिस भएका छन् । 

परिषदले निर्वाचन आयोगमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधारलाई आयुक्त नियुक्तिको सिफारिस गरेको छ । भण्डारी वरिष्ठ अधिवक्ता हुन् । 

राष्ट्रिय मानवाधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर तथा सदस्यहरुमा मनोज दवाडी, डा. सूर्य ढुंगेल, मीन ठाकुर र लिली बस्नेत थापा सिफारिस भएका छन् । 

यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा अमरराज मिश्र र जुद्ध गुरुंग सिफारिस भएका छन् । 

महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरु विद्याकुमारी सुनार र कृष्णकुमारी पौडेल(खतिवडा) सिफारिस भएका छन् । 

यसैगरी, दलित आयोगको अध्यक्षमा देवराज विक र सदस्यहरुमा मिना शोव, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेन पार्थी सिफारिस भएका छन् । 

समावेशी आयोगको अध्यक्षमा मानप्रसाद खत्री र सदस्यहरुमा रामकृष्ण तिम्सिना र हरिदत्त जोशी, आदिवासी जनजाति आयोगमा रामबहादुर थापा अध्यक्षमा र मिमश्रीस मगर, मिनचुङ लामा, शरण राई र रिमा राना सदस्यमा सिफारिस भएका छन् । 

यस्तै, मधेशी आयोगको रिक्त सदस्य पदमा विजय गुप्ता, रेणुदेवी साह र जीवत्व साहलाई नियुक्त गर्ने निर्णय भएको छ । 

थारु आयोगका सदस्यहरुमा सुबोध सिंह, बबिता चौधरी, भोलाराम चौधरी र विकास चौधरी सिफारिस भएका छन् । 

यसैगरी, मुस्लिम आयोगको सदस्यमा मिर्जा अरसद बेग र मोहम्मदिन अली सिफारिस भएका छन् ।