काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले बोर्डको आगामी लक्ष्य तथा प्राथमिकता सार्वजनिक गरेका छन्। 

आज धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष हमालले बोर्डको आगामी लक्ष्य तथा लक्ष्यमबारे जानकारी गराएका हुन्। धितोपत्र तथा वस्तु विनियम बजारको विकास गरी आईओएससीओको मापदण्डअनुरुपको बनाउँदै लैजाने हमालले बताए। 

धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता, जनशक्ति सबलीकरण, नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगलाई प्राथमिता राखिएको हमालले सुनाए। लगानीकर्ताको हकहित संरक्षणका लागि धितोपत्रसम्बन्धी कानुनविपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याउनुका साथै बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्समा आधारित रेगटेकमार्फत चुस्तदुरुस्त बनाई बजारमा हुनसक्ने चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने लक्ष्य पनि बोर्डले राखेको हमालले जानकारी दिए। 

अध्यक्ष हमालले बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रुपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रुपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याइने बताए। ‘उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने एवं साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईजका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजीबजारमा आबद्ध गरिनेछ’, उनले भने। 

यसैगरी बजार सहभागीहरुलाई व्यावसायिक बनाई स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने र बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्ने नीति बोर्डले लिने पनि हमालले बताए। 

समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने कार्य बोर्डको भावी प्राथमिकतामा रहेको छ। 

वस्तु विनियम बजार सञ्चालनको व्यवस्था मिलाइने पनि हमालले बताए। 

हमालका अनुसार सार्वजनिक निष्कासनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी ठूलठूला इक्विटी कम्पनी (जस्तै नेपाल विद्युत प्राधिकरण, काठमाण्डौ उपत्यका खानेपानी लि.) र व्यावसायिक रुपमा सफल तथा स्थापित अनय कम्पनीहरुलाई धितोपत्र बजारमा सूचीकरण गराई सोमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने नीति पनि बोर्डले लिएको छ। 

प्रदेशस्तरमा धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समिष्टगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने हमालले बताए।