काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दति योजनाहरुको घोषणा गरेको छ। सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्थाहरु समावेश हुन सक्नेछन्। 

उक्त मुद्दति निक्षेप योजनाहरु दीर्घकालीन अवधिका लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थातर्फ लक्षित छन्। सो निक्षेप योजनाअनुसार व्यक्ति तथा संघसंस्थाहरुले तोकिएको अवधि समाप्तिपछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल (नियमानुसार लाग्ने करकट्टीपश्चात) प्राप्त गर्न सक्नेछन्।

व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन्। 

यसैगरी संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन्। उल्लिखित मुद्दति योजनाहरु सीमित अवधिका लागिमात्र लागू हुनेछन्।

नेपाली वित्तीय क्षेत्रमा हालसम्मकै व्यक्तिगत एवं संस्थागत मुद्दतिमा उच्चतम ब्याजदर दिनेमध्येमा यी योजनाहरु पर्दछन्। वर्तमान वित्तीय बजारमा उच्चतम प्रतिफलसहितकोे सो योजनामा समावेश हुने संघसंस्थाहरुले आगामी दशककै उत्कृष्ट प्रतिफल प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ।  

आफ्ना १९७ शाखा सञ्जाल, १८१ एटीएम, ४५ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न आफ्नो डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ।