काठमाण्डौ । करिब ६ महिनाअघि नै विश्वव्यापी मन्दी आउन सक्ने संकेत देखिएको थियो। विस्तारै यो संकेत वास्तविकतामा परिणत हुन सक्ने देखिएको छ।
विश्वभरका आर्थिक विज्ञहरुका अनुसार यो आर्थिक मन्दीको सबैभन्दा ठूलो असर अमेरिकामा पर्नेछ। त्यसपछि बेलायत र युरोप मन्दीले गहिरो चोट पुर्याउन सक्छ। चीन पनि चपेटामा पर्नेछ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को हालैको एक प्रतिवेदनमा आगामी दिनमा विश्व अर्थतन्त्रमा गिरावट आउने र विश्वका प्रमुख अर्थतन्त्रहरु मन्दीको चपेटामा पर्ने सक्ने उल्लेख गरिएको छ। आईएमएफले अर्थतन्त्रको अगाडि सबैभन्दा खराब चरण आउन बाँकी रहेको अनुमान गरेको छ। जुन २०२३ साल साबित हुन सक्छ।
हालै जापानी ब्रोकरेज फर्म नोमुराले एक वर्षभित्र विश्वका प्रमुख अर्थतन्त्रहरु मन्दीमा पर्ने जनाएको थियो। विशेषगरी पछिल्लो ५–६ महिना प्राविधिक कम्पनीहरुका लागि निकै खराब साबित भएको छ। अमेरिकी सेयर बजारमा आएको गिरावट हावी भएको छ। अमेरिकी प्रविधि कम्पनी गुगल, एप्पल, टेस्ला सबैभन्दा बढी मारमा परेका छन्।
अमेरिका विश्वमा सबैभन्दा बलियो अर्थतन्त्र भएको देश हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा मन्दी आउन सक्छ भन्ने स्वीकार गरिसकेपछि विश्व पनि चपेटामा पर्न सक्ने देखिएको छ। यद्यपि बाइडेनले यो संकट पार गर्न पर्याप्त क्षमता रहेको दाबी गरेका छन्।
जब कुनै पनि देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) लगातार ६ महिना अर्थात् २ चौथाइसम्म घट्छ, त्यसलाई अर्थशास्त्रमा आर्थिक मन्दी भनिन्छ। अर्कोतर्फ कुनै देशको जीडीपी लगातार २ त्रैमासिकमा १० प्रतिशतभन्दा बढीले घट्यो भने त्यसलाई डिप्रेसन अर्थात महामन्दी भनिन्छ। पहिलो विश्वयुद्धपछि १९३० को दशकमा महामन्दी आएको थियो। जसलाई द ग्रेट डिप्रेसन भनिन्छ।
जब आर्थिक मन्दी आउँछ, त्यसले जनजीवनमा ठूलो असर पार्छ। यसले जीडीपीको आकार घटाउँछ, किनकि दैनिक चीजहरु महँगा हुन्छन्। जनताको खर्च बढ्छ भने आम्दानी घट्छ। जसका कारण जनताको क्रयशक्ति घट्दै जान्छ। सबैभन्दा डरलाग्दो दृश्य हो तब हुन्छ जब कम्पनीहरुले कर्मचारीहरुकटौती गर्न थाल्छन्। जसका कारण बेरोजगारी बढ्दै जान्छ।
यसबाहेक आर्थिक मन्दीको डरले लगानीकर्ताले सेयर बजारबाट पैसा निकाल्न थालेका छन्। कम्पनीहरुले कच्चा पदार्थ महँगो हुने र बिक्री घट्ने जोखिमको सामना गर्छन्। यस्तो अवस्थामा कम्पनीहरुले आफूलाई बचाउन कर्मचारीहरूलाई निकाल्न थाल्छन्।
मन्दी आउन सक्ने प्रमुख कारणहरु
१. ठूला देशहरुका अगाडि ठूलो समस्याः अमेरिका, युरोप र चीनजस्ता अर्थतन्त्रहरु मन्दीमा फस्नु लगभग निश्चित छ। ‘जिरो कोभिड’ नीतिका कारण चीनलाई ठूलो आर्थिक नोक्सान भएको छ। किनकि एउटै कोरोनाको केस आउनेबित्तिकै त्यो क्षेत्रमा कडा प्रतिबन्ध लगाइन्छ। यसको सबैभन्दा बढी असर उद्योगधन्दामा परेको छ। व्यापार ठप्प हुन्छ।
२. रुस–युक्रेन युद्धले अवस्था बिग्रियोः रुस–युक्रेन युद्धले पनि मन्दीलाई थ्रेसहोल्डमा पुर्याउने काम गरेको छ। यस युद्धका कारण विश्वव्यापी आपूर्ति शृंख्लामा प्रतिकूल असर परेको छ। कच्चा तेलको मूल्यमा अचानक उछाल आएको छ। यस युद्धका कारण विश्वमा धेरै अत्यावश्यक वस्तुको अभावको संकट उत्पन्न भएको थियो। किनकि रुस र युक्रेन गहुँ र जौजस्ता धेरै अन्नको प्रमुख निर्यातकर्ताहरु हुन्। युद्धका कारण उनीहरुको निर्यात प्रभावित भएको छ।
३. मुद्रास्फीतिबाट सरकारहरु समस्यामाः मुद्रास्फीतिले सरकारहरुलाई सताइरहेको छ। बेलायतमा मुद्रास्फीति ४० वर्षयताकै उच्च हो। मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाले पनि निरन्तर ब्याजदर बढाइरहेको छ। –एजेन्सी
4 minutes ago
27 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago